बृद्धभत्ताको पैसा लिएर जुवा खेल्दै गरेको अवस्थामा वडाध्यक्ष पक्राउ

Posted on: 17 Oct, 2017

असोज ३१, चौतारा । राज्यले नागरिकलाई दिने सामाजिक सुरक्षा भत्ताको रकम लिएर जुवा खेल्दै गरेको अवस्थामा माओवादीको तर्फबाट वडाध्यक्ष बनेका जनप्रतिनिधिलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । बलेफी गाउँपालिका– ६ (साबिक माम्खा गाविस) का वडाध्यक्ष चित्रवहादुर तामाङलाई प्रहरीले अँधेरीस्थित एक जुवाखालबाट सोमवार राति पक्राउ गरेको हो ।

विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय चौताराबाट गएको टोलीले अरनिको राजमार्गको अँधेरीस्थित सिन्धु क्याफेमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक मोहन पोखरेलले बताए ।

वडाध्यक्ष तामाङले प्रहरी फन्दामा परेपछि आफ्नो नाम ढाँटेर विजय तामाङ बताएका थिए । तर, सोधपुछ गर्ने क्रममा उनी बलेफी–६ का वडाध्यक्ष रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बृद्ध र बिधवा भत्तालगायत सामाजिक सुरक्षा भत्ताको रकम लिएर उनी जुवाखालमा बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । उनीसहित पक्राउ परेका १६ जनामाथि जुवा ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

जुवाखालबाट एक लाख १८ हजार रुपैयाँ समेत बरामद भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!