रामहरि खतिवडाको अपिल ‘मन लागे मत दिनुस् नत्र नदिनुस्’

Posted on: 31 Oct, 2017

पूर्णप्रसाद न्यौपाने,१४ कात्तिक,ओखलढुंगा । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले आगामी मंसिर १० गते हुने निर्वाचनमा ओखलढुंगामा कांग्रेस विजयी हुने दावी गरेका छन् । खिजीदेम्बा गाउँपालिका स्थित रगनीबाट चुनावी अभियानको सुरुवात गर्दै खतिवडाले संघ र प्रदेशसभा अन्तरगतका दुवै क्षेत्रमा कांग्रेस विजयीहुने दावी गरेका हुन् । 

रगनी स्थित चण्डेश्वरी माविको निर्माणाधीन भवनको परिषरमा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्दै कांग्रेसको संघ तर्फका उमेद्वार समेत रहेका खतिवडाले खिजीदेम्बा कांग्रेसको गढ क्षेत्र भएकाले आफुले अभियान यहिँबाट सुरु गरेको बताए । ‘मैले पनि अरुको तुलनामा कम काम गरेको छैन, मेरो कामलाई कसरी लिनुभएको छ, त्यो बुझ्न र भोट माग्न आएँ’ मतदाता माझ निकै नरम स्वभावले प्रस्तुत हुँदै उनले भने‘मन लागे मत दिनुस् नत्र नदिनुस् ।’ 

लोकतन्त्रमा दल र उमेद्वार रोज्ने अधिकार जनतालाई रहेको भन्दै आफ्नो अधिकार प्रयोग गरेर योग्य नेता छान्न स्थानीयलाई सुझाए । अरुबेला निकै विपक्षीको विरोध गर्ने खतिवडाले यस पटकको चुनावी अभियानमा अलि फरक शैली अपनाएका छन् । म कुनै पार्टी र नेताको विरोध गर्दिनँ भनेर भाषण सुरु गरेका खतिवडाले आफुले जिल्लाको विकासका लागि गरेको काम बारे बताउन अधिकांश समय खर्चिए । कांग्रेसका प्रदेश क का उमेद्वार मित्रसेन दाहाल, कांग्रेस उपसभापति तेजेन्द्र खनाल, सचिव नबराज केसी,प्रवत्ता राजकुमार ढुंगाना सहितका नेताले कार्यक्रम सम्बोधन गरेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!