लमजुङमा दुई गठबन्धनबीच कडा प्रतिष्पर्धा (मत सर्वेक्षणसहित)

Posted on: 01 Nov, 2017

सन्देश पौडेल/कात्तिक १५, लमजुङ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङमा दुई गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने भएको हो । 

जिल्लामा वाम गठबन्धन नयाँ होइन । सम्पन्न स्थानीय तह निर्वाचनमा पनि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच चुनावी तालमेल भएको हो । स्थानीय तह निर्वाचनको नतिजाअनुसार जिल्लाका आठ स्थानीय तहमध्ये प्रमुख पदमा नेपाली काँग्रेस २, एमाले ५ र माओवादी केन्द्रले एक पद जितेका छन् । यस्तै, उपप्रमुख पदमा काँग्रेसले तीन, एमालेले चार र माओवादी केन्द्रले एक पद जितेका छन् । 

जिल्लामा आठ स्थानीय तहमा ७५ वडा रहेका छन् । स्थानीय तहको निर्वाचन परिणामअनुसार ३४ वडामा नेपाली काँग्रेसले जितेको छ भने ३६ वडामा एमाले र एउटामात्रै वडामा माओवादी केन्द्रले जित हात पारेको छ । 

स्थानीय तहको मत परिणामअनुसार सबै स्थानीय तहबाट प्रमुखले पाएको मतलाई आधार मान्दा वाम गठबन्धन एक हजार २९६ मतले अघि देखिन्छ । स्थानीय तह निर्वाचनमा वाम गठबन्धनको ३३ हजार ६३३ मत आएको छ भने नेपाली काँग्रेसले ३२ हजार ३३७ मत प्राप्त गरेको छ । सोबाहेक प्रमुख पदमा अन्य दलको एकमुष्ठ तीन हजार ८६८ मत आएको थियो । 

स्थानीय तहको निर्वाचनमा सुन्दरबजार नगरपालिकामा काँग्रेसका बागी उम्मेदवार द्वारिका मिश्रले नै दुई हजार ७३० मत ल्याएका थिए । प्रतिनिधिसभा निर्वाचनमा सो मत काँग्रेसमा थपिएमा अन्य मतबाहेक नेपाली काँग्रेस वाम गठबन्धनभन्दा एक हजार ४३४ मतले अगाडि देखिन्छ । 

यसैगरी, पछिल्लो संविधानसभा निर्वाचन मत परिणामअनुसार पनि लमजुङको चुनावी प्रतिष्पर्धा कडा देखिन्छ । दोस्रो संविधानसभाको निर्वाचन मत परिणामअनुसार जिल्लामा काँग्रेसको जम्मा मत २५ हजार १७६ छ भने एमालेको मत २५ हजार ४०२ रहेको छ । 

सोही निर्वाचनमा तत्कालीन एनेकपा (माओवादी)ले ११ हजार ६५० मत ल्याएको थियो । करिब चार हजार मत ल्याएको राप्रपासहित अन्य दलको मत पाँच हजार ५०० को हाराहारीमा रहेको थियो । तत्कालीन राप्रपा हाल लोकतान्त्रिक गठबन्धनमा भएकाले चुनावी प्रतिष्पर्धा कडा देखिएको हो । 

जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि करिब १० हजार नयाँ मतदाता थपिएका छन् । सम्पन्न स्थानीय तह निर्वाचनमा एक लाख पाँच हजार ९९२ मतदाता रहेका थिए भने हाल नौ हजार ४५७ मतदाता थपिएर एक लाख १५ हजार ४४९ जना पुगेका छन् । 

जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवं निवर्तमान राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्ती चुनावी मैदानमा हुनुहुन्छ । यस्तै, वाम गठबन्धनबाट माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य देवप्रसाद गुरुङ चुनावी मैदानमा हुनुहुन्छ । 

सोबाहेक जिल्लामा अन्य आठ राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवार प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका छन् । अन्यदलले उम्मेदवारी दिएपनि मुख्य प्रतिष्पर्धा भने लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच नै हुने देखिन्छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!