समावेशी लोकतन्त्रको रक्षाका लागि कांग्रेस प्रतिवद्ध: राज्यमन्त्री गुरुङ

Posted on: 03 Nov, 2017

प्रकाश धौलाकोटी/कात्तिक १७, तेह्रथुम । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले समावेशी लोकतन्त्रको रक्षाका लागि कांग्रेस प्रतिवद्ध रहेको बताउनुभएको छ । 

विहीबार तेह्रथुमबाट सदरमुकाम म्याङलुङ्गमा प्रतिनिधि सभाकालागि उम्मेद्वारी दर्तापछि कोण सभामा बोल्दै राज्यमन्त्री गुरुङले जिल्लाको विकास निर्माण, आर्थिक समृद्धि, सडक, शिक्षा, सिंचाई र खानेपानी विकास, युवा र महिलाका मुद्धा उठान गर्न बताउनुभयो । 


समावेशी लोकतन्त्रको जगमा मात्रै समाजको विकास र आर्थिक समृद्धि सम्भव भएको भन्दै उहाँले यसपटकको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा नेपाली कांग्रेसलाई बहुमत दिन आम मतदातालाई आग्रह गरेको बताउनुभयो । तेह्रथुम जिल्लामा झण्डै साढे दुई दशकदेखि बामपन्थी शक्तिहरुले नै शासन गर्दै आएको भन्दै राज्यमन्त्री गुरुङले उनीहरुले गरेका कार्यहरु सबैलाई छर्लङ्ग भएको बताउनुभयो । 

दुई पटक समानुपातिकबाट सांसद हुँदा आफुले सबै समय जिल्लाको विकास र समृद्धिका लागि खर्चिएको सम्झँदै राज्यमन्त्री एक पटक मौका दिएर हेर्न आम मतदातालाई आग्रह गरिरहेको बताउनुभयो । नेतृ गुरुङले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि जिल्लाबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । 

‘मलाई केन्द्रिय समितिले महिला भन्दै समानुपातिक बाट सिट सुरक्षित गर्न भनेकै हो,’ नेतृ गुरुङले भन्नुभयो, ‘तर मैले कमसेकम म पछाडिको पुस्तालाई महिला र युवाले पनि गर्न सक्छन् भन्ने सोचको विकास गराउन प्रत्यक्ष उम्मेद्वारी दिएकी हुँ ।’ 

उहाँ जिल्लाकै एक्ली महिला उम्मेदवार पनि हुनुहुन्छ । उहाँको विरुद्ध बाम गठबन्धनका लागि नेकपा एमालेका भवानीप्रसाद खापुङसहित अन्य १० जना पुरुषहरुको उम्मेदवारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!