विकास र समृद्धिका लागि गठबन्धनले जित्नुपर्छ: भट्टराई

Posted on: 03 Nov, 2017

कात्तिक १७, गोरखा । नयाँ शक्ति पार्टीका संयोजक, गोरखा–२ प्रतिनिधि सभाका उम्मेदवार डा बाबुराम भट्टराईले देशमा विकास र समृद्धि ल्याउन मंसिर १० गतेको निर्वाचन नयाँ शक्ति र नेपाली काँग्रेस बीचको गठबन्धनले जित्नुपर्ने बताउनुभएको छ । 

नेपाली काँग्रेसको सहयोगमा गोरखा–२ का उम्मेदवार हुनुभएका डा भट्टराईले बिहीबार गोरखाको बारपाक पुगेर चुनावी घरदैलो र चुनावी सभाका क्रममा अर्थमन्त्री, प्रधानमन्त्री हुँदा आफूले विकास तथा निर्माणको जग राखेको भन्दै सो पूरा गर्न आफ्नो जित आवश्यक रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “मेरो उम्मेदवारी कसैको विरुद्ध होइन । शान्ति, संविधान कार्यान्वयन र स्थिरताका लागि हो ।” आफूले शहीदको सपनालाई घात गरेको प्रतिस्पर्धीले आरोप लगाउने गरेको भन्दै भट्टराईले शहीदका सपना राजतन्त्र अन्त्य गर्दै देशलाई विकास र समृद्धितर्फ लैजाने थियो भन्दै विकास र समृद्धिको नेतृत्व नयाँ शक्तिले गर्दै आएको दाबी गर्नुभयो । 

आफूलाई गोरखा–२ मा उम्मेदवार हुन निषेध गरिएको भन्दै भट्टराईले नेता नारायणकाजी श्रेष्ठतर्फ संकेत गर्दै भन्नुभयो, “उहाँ माओवादी होइन । उहाँ किन माओवादी हुन रहर गरिरहनुभएको छ मैले कुरो बुझेको छैन ।” शान्ति प्रक्रिया आफ्नो पहलमा भएको भट्टराईको भनाइ थियो । 

यस्तै, भट्टराईले बारपाकीलगायत भूकम्पपीडितलाई निजी आवास निर्माण गर्न कम्तीमा रु. पाँच लाखका दरले अनुदान दिनुपर्ने बताउनुभयो । आफ्नो पालामा बारपाक सडक निर्माण शुरु भएको बताउँदै उहाँले एक वर्षभित्रमा सडक कालोपत्र गरिने बारपाकीलाई आश्वासन दिनुभएको छ । 

चुनावी सभालाई गोरखा–२ प्रदेशसभा (ख) का नेपाली काँग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीले आफूलाई जिताएर विकासको ढोका खोल्न बारपाकवासीलाई आग्रह गर्नुभयो । 

यस्तै, उम्मेदवारहरु भट्टराई र दवाडीले बारपाकीका घरघर पुगेर चुनावी घरदैलो र भोट माग्नुभएको छ । चुनावी घरदैलो र सभामा नेपाली काँग्रेस र नयाँ शक्ति पार्टीका नेता तथा कार्यकर्ता सहभागी थिए । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!