वैदेशिक रोजगार शून्यमा झार्छौं: ओली

Posted on: 03 Nov, 2017

कात्तिक १७, झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा वाम गठबन्धनले जिते वैदेशिक रोजगारी शून्यमा झार्ने बताउनुभएको छ । 

झापाको दमकमा प्रेस चौतारीले आज आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले स्वदेशमै रोजगारीको प्रशस्त अवसर सिर्जना गरेर बढ्दो युवा पलायन रोक्ने बताउनुभयो । 

“एमालेको सरकार हुँदा १८ प्रतिशत वैदेशिक रोजगारमा जाने युवाको संख्या घटेको थियो”, पूर्वप्रधानमन्त्री समेत रहनुभएकाले ओलीले भन्नुभयो, “गठबन्धनको जितसँगै त्यसलाई शून्यमा झार्छौं ।” 

अध्यक्ष ओलीले अब हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन निष्पक्ष र भयरहित हुनुपर्नेमा जोड दिनुभयो ।  झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएका अध्यक्ष ओलीले भन्नुभयो, “देशमा जुनसुकै व्यवस्था भए पनि मुलुकले समृद्धि र विकासको पथ समात्नुपर्छ ।” 

उहाँले बिपी, गणेशमान जस्ता नेताले लोकतन्त्रको पक्षमा लडे पनि अहिलेको काँग्रेस व्यक्तिगत स्वार्थमा फसेको आरोप लगाउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!