सप्तरीमा चुनावी माहोल तात्यो, १६८ जनाको उम्मेदवारी

Posted on: 03 Nov, 2017

सुरेश झा/कात्तिक १७, सप्तरी । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्तरीमा चुनावी माहोल तातेको छ । 

बिहिबार मनोनयन दर्तापश्चात् राजविराजलगायत शहरी तथा ग्रामीण क्षेत्रको बजार चोक, पसल र सार्वजनिकस्थलमा निर्वाचनको बहस, छलफल र प्रचारप्रसार शुरु भएकोे छ । 

राजविराजको विभिन्न छापाखाना र आर्टमा पसलमा पार्टीको झण्डा, ब्यानर र आकर्षक नारा सहितका पम्पप्लेट छपाइको कार्य भ्याइनभ्याइ भएको व्यवसायीको भनाइ छ । आफ्नो पार्टीबाट टिकट नपाएका नेताले स्वतन्त्र उम्मेदवारी दिएर आफ्नो प्रचारप्रसारमा लागेको र त्यसबाट ठूला दलका उम्मेदवारलाई निर्वाचनमा समस्या परेको सम्बद्ध दलका प्रतिनिधिको गुनासो छ । 

राजपाबाट टिकट नपाउनु भएएका स्वतन्त्र उम्मेदवार लक्ष्मण यादव र सहमहामन्त्री जयप्रकास ठाकुर, संघीय समाजवादी पार्टीबाट टिकट नपाएका भीमराज यादव पनि बागी उम्मेदवार बन्नुभएको छ । 

पार्टीले भेद्भाव गरेकोले आफूहरूले स्वतन्त्र उम्मेदवारी दिएको उहाँहरूको तर्क छ । उता नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धन र संघीय समाजवादी पार्टी र राजपाबीचको गठबन्धनले सप्तरी जिल्लाको चारवटा ससंंदीय निर्वाचन क्षेत्र र ८ वटा प्रदेशसभा सदस्यको निर्वाचनको अवस्थाबारे जनस्तरमा व्यापक छलफल र बहस शुरु गरेको छ । 

जिल्लामा कुन पार्टीका उम्मेदवार विजयी हुने भन्ने भविष्यवाणी गर्न कठिन रहेको स्थानीय वुद्धिजीवी रामेश्वर दास बताउनुहुन्छ । सप्तरी जिल्लामा विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी १६८ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला मुख्य निर्वाचन कार्यालयले जनाएको छ । 

प्रतिनिधिसभा सदस्यका लागि चारवटा क्षेत्र रहेको सप्तरीमा ५९ जनाले उम्मेदवारी दिएका छन् भने आठ प्रदेशसभा सदस्यका लागि १०९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाका लागि क्षेत्र नं–१ बाट १४ जना, क्षेत्र नं–२ बाट १८ जना क्षेत्र नं ३ बाट १२ जना र क्षेत्र नं ४ बाट १५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । 

प्रदेशसभाका लागि क्षेत्र नं १ को १ र २ बाट ९–९ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं २ को १ बाट १३ जना र २ को २ बाट २२ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं ३ को १ बाट १९ जना र ३ को २ बाट १४ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर ४ को १ बाट ११ जना र क्षेत्र नं ४ को २ बाट १२ जनाले प्रदेशसभाका लागि उम्मेदवारी दिएका छन् । 

विभिन्न दलले गठबन्धन बनाए पनि दल भन्दा स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य रहेको पाइएको छ । प्रतिनिधिसभाका लागि कूल ५९ जनाले उम्मेदवारी दिएकामा २१ जना स्वतन्त्र उम्मेदबार छन् भने प्रदेशसभाका लागि १०९ जनाले उम्मेदवारी दिएकामा ३९ जना स्वतन्त्र छन् । 

उक्त निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले शान्ति सुरक्षाको अवस्था कडा बनाउँदै लगेको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे बताउनुहुन्छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!