चुनाव जिते सरकारी सुबिधा नलिने अम्बिरबाबुको घोषणा

Posted on: 03 Nov, 2017

पूर्णप्रसाद न्यौपाने,१७ कात्तिक,ओखलढुंगा । आफुले चुनाव जितेर सांसद भएपछि सरकारी सुबिधा नलिने एमाले नेता अम्बिरबाबु गुरुङले घोषणा गर्नुभएको छ । संयुक्त बाम गठबन्धनका तर्फबाट ओखलढुंगा क्षेत्र नं. क मा उमेद्वार बन्नुभएका नेता गुरुङले आफुले सांसद भएबापत सरकारबाट पाउने सबै सेवा,सुबिधा जिल्लाबासी जनतालाई दिने घोषणा गर्नुभएको हो । 

मत माग्न मतदाता माझ जानेक्रममा भिजन समाचारसँग कुरा गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो । आफु जिल्लाको विकास र रुपान्तरणका लागि निश्वार्थ समाजसेवा गर्ने उद्धेश्यले चुनावी मैदानमा आएको बताउँदै उहाँले चुनाव जितेर सांसद भएपछि आफुले पाउने सबै सुबिधा जिल्लाका गरिब र विपन्न जनताको नाममा पारदर्शी रुपमा खर्च गर्ने बताउनुभयो । 

ओखलढुंगा जिल्लालाई भ्रष्टाचारमुक्त जिल्लाको परिकल्पना गर्दै आफ्नो जीत भएमा विकासमा हुने सबैखाले भ्रष्टाचार नियन्त्रण गर्न कदम चाल्ने समेत उहाँले बताउनुभयो । उहाँले जनताको नाममा आउने सामान्य बजेटमै भ्रष्टाचार हुने गरेको भन्दै गाउँको विकासका लागि भ्रष्टाचार नियन्त्रण आफ्नो पहिलो एजेण्डा हुने बताउनुभयो । शिक्षा,स्वास्थ्य,विद्युत,रोजगारी र नागरिकका दैनिक जीवनमा पर्ने हरेक समस्या समाधानमा नतिजा देखिनेगरि काम गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । ‘मलाई के गर्छस् भनेर नसोधे हुन्छ, किनकी म ओखलढुंगे जनतालाई जहाँ जुनबेला जे आवश्यक पर्छ त्यो गर्छु ।’ गुरुङले भन्नुभयो ‘बाम गठबन्धनका पक्षमा मतदाता छन् त्यसैले जित निश्चित छ भन्नेमा पुगेको छु ।’ उहाँले गाउँमा उम्मेदवारका एजेण्डा भन्दा मतदाता नै एजेण्डा तयार गरेर बस्ने गरेको पनि जानकारी दिनुभयो । उहाँका अनुसार मतदाताका एजेण्डा नसुनी आफ्ना एजेण्डा उनीहरुले नसुन्ने गरेको समेत पाईएको छ । 
चुनाव जितेमा आफुले तलब भत्ता नलिने घोषणा गर्ने गुरुङ ओखलढुंगाका एक मात्र उम्मेदवार हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!