जब बामगठबन्धनका उम्मेदवार पदम गिरी गर्जिए, नेपाली काँग्रेसको सातो गयो

Posted on: 04 Nov, 2017

पर्वत । आसन्न मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम तालमेल गरेका नेकपा एमाले र माओवादी कन्द्रले जलजला गाउँपालिका स्तरीय कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रम गरेका छन् । जलजला ३ स्थित पर्वतको बेनीमा शनिवार विहान वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार पदम गिरी र प्रदेश सभा क्षेत्र १(क)का उम्मेदवार नेत्र अधिकारीको उपस्थितीमा कार्यकर्ता भेला गरिएको हो ।

भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवम् नेकपा एमालेका पर्वतका जिल्ला अध्यक्ष गिरीले संविधानको पूर्ण कार्यन्वयन गर्दै देशलाई विकास र समृद्धिको मार्गमा डो¥याउनका लागि वाम गठबन्धन गरिएको बताउनुभयो ।

उहाँले पर्वतको समग्र युवाहरुको प्रतिनिधित्व गर्दै आफुले उम्मेदवारी दिएको बताउँदै वाम गठबन्धनको जितलाई कसैले पनि रोक्न नसक्ने ठोकुवा गर्नुभयो । सधै जनताका विच भ्रमको राजनीति गरेर १८ वर्ष सांसद हुँदा पनि जिल्लाको विकासमा ठोस उपलब्धी हासिल हुननसकेको उहाँको भनाई थियो ।

अहिलेको निर्वाचनले भ्रमको राजनीतिलाई पत्तासाफ पार्ने गिरिले बताउनुभयो । उहाँले जलजलाको विकासका लागि वाम गठबन्धनले वृहत योजना बनाउने पनि बताउनुभयो । जिल्लाको साधनस्रोतको परिचालन गरेर जिल्लालाई नमुना बनाउने योजना वाम गठबन्धन सँग भएको उहाँको भनाई थियो ।

भेलामा प्रदेशसभा क्षेत्र १ (क) का उम्मेदवार एवम् माओवादी केन्द्रका पोलिट व्युरो सदस्य नेत्र अधिकारीले वाम तालमेल मात्र नभएर पार्टी एकता नै भएकाले निर्वाचनमा संयुक्त रुपमा परिचालित हुन कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको थियो । वाम गठबन्धन र पार्टी एकता देशको आवश्यकता र जनताको चाहना वमोजिम भएको उहाँले बताउनुभयो । गाउँगाउँमा वाम गठबन्धनप्रति जनता उत्साहित भएको बताउँदै उहाँले पर्वतमा वामपन्थीको जितलाई कसैले पनि रोक्न नसक्ने ठोकुवा गर्नुभयो ।

नेकपा एमाले पर्वत बेनी बजार कमिटीका अध्यक्ष दिलिप वरुवालको अध्यक्षता, जलजजला गाउँपालिका १ का वडा अध्यक्ष तुलसी रेग्मीको स्वागत र हेमन्त थापाको सञ्चालनमा भएको कार्यक्रममा वाम गठबन्धनका जिल्लास्तरी नेता,पर्वत बेनीका युवा र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!