मतदाता शिक्षामा ढिलाई, अलमलमा मतदाता

Posted on: 06 Nov, 2017

चिसाङ शेर्पा/कात्तिक २०, खोटाङ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा ढिलाइ हुँदा प्रदेशसभा र प्रतिनिधिसभा चुनावका मतदाता अलमलमा परेका छन् ।

चुनाव आउन २० दिन बाँकी रहँदासम्म दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा मतदाता शिक्षा कार्यक्रम सुरु नहुँदा मतदाता अलमलमा परेका हुन् । चुनावसम्वन्धी उठ्ने जिज्ञासा र अस्पष्टतालाई समाधान गर्दै मतदातालाई चुनावप्रति उत्प्रेरणा जगाउने गतिविधि सञ्चालनका लागि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने गरेको छ । तर, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न ढिलाइ हुँदा मतदाता अलमलको अवस्थामा रहेको एमालेका जिल्ला उपसचिव कुमार आचार्यले बताउनुभयो । 

चुनावप्रति मतदातालाई सचेत र जागरुक बनाउनका लागि निर्वाचन आयोगले ढिलाई गरेको कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयले भने कात्तिक २५ गतेदेखि मतदाता शिक्षा स्वयंसेवक खटाउने जनाएको छ । 

अघिल्लो दिन तालिम दिएर दोश्रो दिनदेखि मतदाता शिक्षाका लागि स्वयंसेवकलाई खटाइने जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो । गत स्थानिय तहमा मतदाता शिक्षा प्रभावकारी नहुंदा नै खोटाङमा धेरै मात्राका भोट वद्धर भएको थियो । गाउ कुनाकाप्चामा मतदाता शिक्षा नपुग्दा कतिपयले औठाछापले नै भोट लगाएका थिए । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!