कांग्रेसभित्र कुनै विवाद नभएको भन्दै एकमत भएर चुनावमा खटिन आग्रह

Posted on: 08 Nov, 2017

कात्तिक २२, तेह्रथुम | नेपाली कांग्रेस तेह्रथुमका नेता तथा पुर्वसांसद तुलसी सुब्बाले तेह्रथुम कांग्रेसभित्र कुनै विवाद नरहेको बताउनुभएको छ । कांग्रेसको महासमिति सदस्य समेत रहनुभएका सुब्बाले टिकट लिने बेलामा धेरैको दाबी हुनु स्वभाविक भन्दै अब एक ढिक्का भएर पार्टीलाई जिताउन सुब्बाले आग्रह गर्नुभयो । 

काठमाडौँमा नेपाली कांग्रेस तेह्रथुम काठमाडौँ सम्पर्क समितिले गरेको कार्यक्रममा नेता सुब्बाले पार्टीको जिल्ला कार्यसमितिको निर्णय बमोजिम नै केन्द्रीय समितिले टिकट वितरण गरेको बताउनुभयो । नेता सुब्बा ०६४ को संविधान सभा निर्वाचनमा तेह्रथुमबाट प्रत्यक्षतर्फ विजयी हुनुभएको थियो । २०७० को चुनावमा पार्टीभित्रको अन्तद्धन्द्धका कारण प्रतिपक्षीले फाइदा उठाएको भन्दै  नेता सुब्बाले अब त्यस्तो हुन नदिने बताउनुभयो । उहाँले यसपालिको निर्वाचनमा जिल्लाबाट उम्मेद्वारी दिएका तीनै जना उम्मेदवारहरु भारी मतले विजयी हुनेमा विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डम्बर माबोहाङले कांग्रेस नेतृ सीता गुरुङको युवा व्यक्तित्वलाई चिनेर उहाँको क्षमताको फाइदा उठाउन मतदातालाई सुझाव दिनुभयो । कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य तथा भौतिक पुर्वाधार राज्यमन्त्री सीता गुरुङले आफु समानुपातिक बाट दुई पटक सांसद हुँदा सधै जिल्लाको विकास निर्माणमा ध्यान केन्द्रित गरेको बताउनुभयो । तर अधिकांश अधिकार प्रत्यक्षबाट निर्वाचित सासदसँग हुने व्यवस्थाले आफुले चाहेजति सबै काम गर्न नसकेको बताउनुभयो । 

नेतृ गुरुङले आफुले मन्त्रालयको जिम्मेवारी लिएपछि तुरुन्तै निर्वाचन आचारसंहिता लागेकाले यो अवसरमा समेत चाहेजति काम देखाउन नपाएको स्वीकार्नुभयो । तर आफु सधै जिल्लाबासीको हितमा रहेको उहाँको भनाइ थियो । कार्यक्रममा प्रदेश सभा २ का उम्मेदवार प्याब्सन केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेले युवाहरुलाई स्वदेशमै रोजगार बनाउन व्यवसायिक तथा प्राविधिक शिक्षालयहरु स्थापनाको खाँचो रहेको बताउनुभयो । कांग्रेस नेता सुब्बासहित उम्मेदवारहरुको टोली शुक्रबार जिल्ला आइपुग्ने कांग्रेस तेह्रथुम काठमाडौँ सम्पर्क समितिका सचिव बालकुमार गुरुङले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!