नुवाकोटमा मतपत्र आइपुग्यो

Posted on: 09 Nov, 2017

कात्तिक २३, नुवाकोट । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा आवश्यक मतपत्र जिल्ला आइपुगेको छ । 

निर्वाचनका लागि आवश्यक पर्ने ६५ प्रकारका सामग्रीमध्ये जिल्लामा खरिद गर्नुपर्नेबाहेक आयोगबाट पठाउनेमध्ये मुख्य मानिएको मतपत्र बुधबार जिल्ला आइपुगेको हो । नुवाकोटमा कायम रहेका मतदाता संख्याभन्दा बढी हुनेगरी मतपत्र जिल्लामा आएको मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले जानकारी दिनुभयो । 

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ क्षेत्र नं १ का लागि एक लाख १९ हजार, प्रदेश सभातर्फ (क) का लागि ५९ हजार र (ख) का लागी ६० हजार थान मतपत्र आएको छ । यस्तै, समानुपातिकतर्फ एक लाख १९ हजार मतपत्र आएको क्षेत्र नं १ का निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिनुभयो । 

क्षेत्र नं २ का लागि प्रत्यक्षतर्फ एक लाख १६ हजार मतपत्र जिल्ला आइपुगेको छ । प्रदेश सभातर्फ (क) र (ख) का लागि समान ५८÷५८ हजार थान मतपत्र आएको छ । २ नं क्षेत्रको समानुपातिकतर्फ एकलाख १६ हजार थान मतपत्र आएको मुख्य निर्वाचन अधिकृत शाहले जानकारी दिनुभयो । 

मतपत्र नेपाली सेनाको सुरक्षा घेरामा ल्याएर सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा भण्डारण गरिएको छ । नुवाकोटमा कुल मतदाता दुई लाख आठ हजार १९१ रहेका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!