प्रधानमन्त्री देउवालाई राष्ट्रियताको चिन्ता छैन्: मोहनविक्रम सिंह

Posted on: 10 Nov, 2017

ललित बोहरा/कात्तिक २४, डडेल्धुरा । मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रधानमन्त्री शेरबहादुर देउवाका कारणले राष्ट्रियता खतरामा पारेको आरोप लगाएका छन् ।

डडेल्धुरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले देउवा अंगीकृत नागरिकलाई वंशज नागरिकसरह अधिकार दिनुपर्ने मागका साथ अगाडि बढिरहेको बताएका हुन् । उनले प्रधानमन्त्री भारतको इशारामा चलिरहेको आरोप लगाएका छन् ।

‘प्रजातान्त्रिक दिशामा त देउवाको बारम्बारको प्रतिगमनको इतिहास छँदैछ’ उनले भने, राष्ट्रियताको विषयमा पनि उनले एउटा गम्भीर प्रकारको षड्यन्त्र रच्दै आएका छन् ।’ उनले अहिलेको स्थितीमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनलाई पराजित गर्नु पर्ने जिकिर गरेका छन् ।

देउवाले यसपटक पनि चुनाव जिते देश नै खतरामा पर्ने उनको भनाइ छ । विभिन्न समयमा कांग्रेससँग आफ्नो पार्टीको कार्यगत एकता भएको बताउँदै उनले तर शेरबहादुरको नीति बेग्लै हुँदा देउवाले देशको राष्ट्रियता खतरा पार्न खोजिरहेको आरोप लगाए । देउवाले राष्ट्रलाई प्रतिगमनको दिशातिर उन्मुख गराइरहेको उनको तर्क छ ।

सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दवाबमा राप्रपा र नेपाली कांग्रेस हिन्दू राष्ट्र बनाउने पक्षमा रहेको समेत आरोप लगाएका छन् । ‘राप्रपा हिन्दू राष्ट्र हुनु पर्छ भनेर ठूलो पर्यत्न गरिरहेको छ’ महामन्त्री सिंहले भने, नेपाली कांग्रेस भित्र पनि ठूलो सर्कल हिन्दू राष्ट्र हुनु पर्छ भन्ने पक्षमा छ ।’ 

उनीहरुको हिन्दू राष्ट्र बनाउनु पर्छ भन्ने प्रमुख उदेश्य राजा पुनःस्थापन गराउन भएको उनको दाबी छ । उनले अहिलेको वाम गठबन्धनसँग पनि आफ्नो पार्टीको ठूलो मतभेद रहेको बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!