यस्ता छन् सिन्धुपाल्चोकका चुनावी एजेण्डा

Posted on: 16 Nov, 2017

कात्तिक ३०, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको पर्यटन विकास र प्रवद्र्धनलाई मुख्य चुनावी एजेण्डा बनाएर अहिले दलहरु मतदाताको घरघरमा पुग्न थालेका छन् । 

भूगोलको हिसाबले पनि मेलम्ची, ज्यामिरे, पाँचपोखरी, भोटेचौर र हेलम्बुलगायतका क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पर्यटन व्यवसायबाट मेलम्ची क्षेत्रको विकास गर्ने योजनासहित चुनावी मैदानमा उत्रिएका छन् । 

मुख्य दुई लोकतान्त्रिक र वाम गठबन्धनबाट प्रतिनिधि र प्रदेशसभामा कडा प्रतिस्पर्धा देखिए पनि अन्य केही साना दलहरुले समेत केही विकासका योजनालाई चुनावको मुख्य आधार बनाएका छन् । 

कुल मतदाता संख्या ५८ हजार ४४६ रहेको सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा ‘ख’ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार निमा लामाले प्रदेश र समग्र सिन्धुपाल्चोकका तीर्थस्थललाई पर्यटकीयस्थल घोषणा गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर मेलम्चीलगायतको क्षेत्रमा विकास गर्नेमा जोड दिनुभएको छ । 

आफ्नो प्रदेश र मेलम्ची क्षेत्रको युवामा नयाँ योजनासहित अहिले पनि पर्यटन तथा शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका लामाले यसलाई अझै विकास गरी गाउँमै रोजगारीको अवस्था सिर्जना गर्ने लक्ष्य रहेको बताउनुभयो । 

आफ्ना प्रतिद्वन्द्वी वाम गठबन्धनसँग पर्यटन विकासको कुनै योजना नरहेको बताउँदै लामाले लामो समयदेखि आफू पर्यटन क्षेत्रमा काम गर्दै आएको र आफूसँग पर्यटन विकास र प्रवद्र्धन गर्ने भिजन भएको बताउनुभयो । 

राप्रपा (प्रजातान्त्रिक)का अध्यक्षसमेत रहेका तथा प्रजातान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका पशुपति सम्शेर राणा र लामाले यतिबेला सिन्धुपाल्चोक विकास गर्न पर्यटकीयस्थलको निर्माण, कृषिमा व्यवसायीकरण, स्याउ खेतीको विकास र इन्द्रावती नदीमा ¥याफ्टिङ सञ्चालनमा लागि पर्ने बताउनुभएको छ । 

वाम गठबन्धनका उम्मेदवार पनि सडक यातायातको विस्तार र विकास गर्ने पुरानै योजनासहित घरदैलो अभियानमा लागेका छन् । यसअघि पनि पुरानै विषयलाई लिएर चुनावमा देखिएका वाम गठबन्धनबाट प्रतिनिधिसभा २ का उम्मेदवार शेरबहादुर तामाङ र प्रदेशसभा क र ख का उम्मेदवार क्रमशः युवराज दुलाल र दावा तामाङ पनि पुरानै एजेण्डा लिएर अगाडि बढेका देखिन्छन् । 

सम्पूर्ण सिन्धुको विकासको मार्गदर्शन पर्यटनबाहेक तीव्रगतिमा विकास गर्ने अर्को विकल्प नरहेको र आम सिन्धुवासीले पनि पर्यटन विकासको प्रचुर सम्भावना रहेकाले पर्यटकीय नगरी बनाउनुपर्ने मेलम्ची नगरपालिका–१ भोटेचौरका सुरज चौलागाईँ बताउनुहुन्छ । 

लामाले आफू चुनावमा जिते वा हारे पनि पाँचपोखरी, मेलम्ची भ्याली, भोटेचौर चियाबगान र अन्य रमणीय स्थान र पर्यटकीय मार्ग बनाउने स्थान रहेकोले यसलाई पर्यटकीय नगरीकारुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

हिजो आफू उम्मेदवार नहुँदा पनि मानेखर्कको स्वास्थ्य संस्था, वाँसखर्क, वरुवा, थाङपालढाप र कोटमा बनाएका विद्यालय र सहयोग, सरस्वती उच्च मावि, ग्याल्थुममा गरेको कामका साथै पर्यटन क्षेत्रका लागि गरेको कार्यको जनताले राम्रो मूल्यांकन गर्नेमा आफू ढुक्क भएको लामा बताउनुुहुन्छ । 

मत माग्दै गुन्सा पुगेका लामाले मेलम्चीदेखि भोताङ र मेलम्चीदेखि तिम्बुसम्म तथा बाँहुनेपाटीदेखि पाटी भञ्ज्याङसम्म दुई वर्षभित्रमा बाटो कालोपत्रे गर्ने एजेण्डा रहेको बताएपछि गुन्साका आकाश तामाङले खुशी हुँदै पहिलेको भन्दा सडक दुर्घटनामा कमी आउने बताउनुभयो । 

स्मरण रहोस्, सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभाको उम्मेदवारीका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट पशुपति शमशेर राणा र वाम गठबन्धनका तर्फबाट शेरबहादुर तामाङ रहनुभएको छ भने प्रदेशसभा २ को (क) मा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबाट क्रमशः विकास तामाङ र युवराज दुलाल र (ख) मा निमा लामा र दावा तामाङ रहनुभएको छ । आदित्य दाहाल/रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!