ओली र प्रचण्डले एउटै मंचबाट भने- 'चुनाव लगत्तै पार्टी एकता हुन्छ'

Posted on: 16 Nov, 2017

महेन्द्र केसी/कात्तिक ३०, पर्वत । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव लगत्तै पार्टी एकता हुने बताएका छन् ।

देशमा अब कम्युनिष्टहरुको एकता केन्द्र तयार गरी फुटेका कम्युनिष्टहरुलाई एकिकृत गर्नको लागि बामगठबन्धन गरिएको नेताहरुले बताएका छन् । विहिबार पर्वत कुश्मामा आयोजित बृहत भेलालाई सम्बोधन गर्दै नेताहरुले यस्तो बताएका  हुन् । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपी र गणेशमानको पालाको जस्तो अब देशमा नेपाली काँग्रेस नरहेको बताएका छन् । उनले नेपाली काँग्रेससँग कुनै पनि नीति तथाा कार्यक्रमहरु नभएको टिप्पणी समेत गरेका छन् ।

संविधानको कार्यान्वयन गर्दै जनतालाई सम्पन्नशाली गराउनको लागि बामगठबन्धन तयार भएको बताएका छन् । उनले देशलाई एकताबद्ध गरेर स्थायित्व प्रदान गर्नको लागि मंसिर १० र २१ गते निर्वाचन हुन लागेको बताए । 

ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव लगत्तै ५ हजार भत्ता हुने गरी बृद्धि गर्ने बताए । उनले कम्युनिष्टहरुले भ्रमको खेती नगर्ने कसैलाई तर्साउने झुक्काउने काम नगर्ने बताए । कम्युनिष्ट आए तानाशाह नभइ लोकतन्त्र आउने समेत बताए । 


माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरु विभाजित भएकै कारण प्रतिक्रियाबादी दक्षिणपन्थीहरुले देशमा राज गर्ने अबसर पाएको बताए । उनले  इतिहासको नकरात्मक अध्यायको अन्त्य गरेर नव युगतिर नेपाललाई लैजाने कम्युनिष्टहरुको केन्द्र बनाउने संकल्पसहित बामपन्थीहरुको बलियो सरकार बनाउने उदेश्यका साथ बामगठबन्धन निर्माण गरिएको बताए । 

विगत ७० बर्षदेखि देशमा  एउटा भूमरी कुनै पनि सरकार पाँच बर्षसम्म नचल्ने, नटिक्ने  र नेपाली जनताको  विकास र समृद्धिको चाहाना कछुवाको गतिमा जाने, ९÷९ महिनामा सरकार परिर्वतन हुने सरकार बन्ने र गिर्ने नयाँ चक्रव्यूमा नेपाली जनता परेको भन्दै उनले देशलाई समृद्धितर्फ लैजानको लागि बामगठबन्धन भएको बताए ।  सोही कार्यक्रममा राप्रपा पर्वत बामगठबन्धनमा विलय भएको छ । 

राप्रपाका अध्यक्ष इश्वर गिरी सहितको टोली बामगठबन्धनमा  विलय भएको हो । कार्यक्रममा  नेपाली काँग्रेस, जनमोर्चा लगायतका अन्य दलका गरी ४ दर्जनभन्दा बढी बामगठन्धनमा प्रवेश गरेका छन् ।  प्रचण्ड र ओलीलाई युवासंघ नेपाल पर्वतले १० केजीको मालाले स्वागत गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!