चुनाव लागेसँगै आफ्नाले आफ्नैलाई चिन्न छाडे...

Posted on: 17 Nov, 2017

यति बेला मुगु लगायत देश चुनावमय भएको छ । चिया पसल, चौतारा पानी-पधेरा, घांस-दाउरा जताततै गएपनि सबैजना चुनावकै कुरा गर्छन । 

काम गर्न गएपनि आ-आफ्ना पार्टीका मिली जाने चलन-चल्तीप पनि पुरानै हो । एकै घरका होस वा आफन्त, फरक पार्टीका छन् भने बोलचाल पनि हुँदैन । चिनेपनि नचिने जस्तै गर्छन । अधिकांश राजनीतिमा सक्रिय भएका फरक-फरक पार्टीका छन् । उनिहरु चुनावी माहौल तातिएसँगै हिजो-आज आफन्त तथा चीनजानसँग पनि बोलचाल गर्न नपरे झैं गर्छन । बोलचाल मात्र होईन ताल परे झगडा समेत गर्ने घटनाहरु पनि  छन् । चुनाव आउन थोरै दिन बाँकी रहँदा हिजो-आज मुगुमा चुनावी सरगर्मिले बुढा-बुढी, युवा-युवतीदेखि बालबालिकासम्म तताएको छ । सबै आफ्नो पार्टीले जित्ने दावि गर्दै चुनावी घरदैलो गरिरहेका छन् । कार्यकताले जहाँ आफन्तनै उम्मेदवार भएपनि वा फरक पार्टीमा सहभागी भएकै कारण एकापसमा गाली गरेको सुन्न सकिन्छ भने परि आए राजनीतिकै कारण झडप पनि हुने गरेका छन् । 

चुनावमा पैसाको चलखेल हुन्छ भन्ने कुरा यथार्थ हो । पार्टीहरुले गाउँ-गाउँमा राति-राति पार्टीका कार्यकर्ता परिचालन गरी बिपक्ष पार्टीका कार्यकताले  पैसाको चलखेल गर्न सक्छ भन्दै निगरानी राख्ने काम पनि भएका छन् । चुनाव आउन १० दिन मात्र बाँकी रहदाँ सबैको मुखमा चुनावकै कुरा आएका छन् । चुनावमा कस्ले जित्ला भनी जोड घटाउ भएका छन् । चुनावमा उठेका उम्मेदार सबै उस्तै छन्, कस्लाई भोट दिने भन्ने कुरा पनि कतिपयका कुरा हुन्छन् । 

मुगुको कामरोग गाउँपालिकामा एकजनाले विपक्ष पार्टीलाई सहयोग गरेको भन्दै आफ्नै घरको व्यक्तिलाई घर निकाला समेत गरेका छन । यो चुनावको कुरा मात्र होईन, प्राय सबैजसो चुनावमा यस्ता घटना घटिनै रहेका छन् । 

- नन्द बहादुर रोकाया | मुगु | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!