दोलखा– १ मा विशाल कि बर्मा ? कसको बलियो कर्म !

Posted on: 21 Nov, 2017

ताराबहादुर महत । मंसिर ५, दोलखा । शिशिर ऋतुको चिसो मौसममा पनि आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले दोलखामा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । हरेक दलका उम्मेद्वारसहित नेता कार्यकर्ताहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन् । दोलखामा प्रदेश सभाका दुईवटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर १ को निर्वाचनमा बाम गठबन्धन र काङ्ग्रेस उम्मेद्वारविच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा नेकपा एमाले र माओवादी केन्द्र सम्बद्ध बाम गठबन्धनको तर्फबाट माओवादी युवा नेता विशाल खड्का र नेपाली काङ्ग्रेसका तर्फबाट बर्मा लामा मुख्य प्रतिस्पर्धी हुनुहुन्छ । गत स्थानिय निर्वाचनमा सहयात्री बनेका नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेद्वारहरु अहिले कडा प्रतिस्पर्धी बनेका छन् । दुवै उम्मेद्वारहरु आ–आफ्ना तर्क दिँदै आफूले जित्ने दाबी गरिरहनु भएको छ । आसन्न निर्वाचनमा दुवैले जित्ने दाबी गरीरहँदा हामीले उहाँहरुको राजनितिक पृष्ठभुमिको बारेमा उहाँहरुसँग गरेको कुराकानीमा आधारित भएर यो सामाग्री तयार पारेका छौं ।


विशाल खड्का

नेकपा माओवादी केन्द्रका आशा लाग्दा युवा नेता विशाल खड्का प्रदेश सभा दोलखा क्षेत्र नम्बर १ बाट बाम गठबन्धनका उम्मेद्वार हुनुहुन्छ । उहाँको जन्म वि.स. २०३८ साल बैशाख ३ गते दोलखाको तत्कालिन जुँगु गाविसमा राजनितिक पृष्ठभुमीको परिवारमा भएको हो । सानै उमेरदेखि विद्यार्थी नेता हुँदै राजनितिमा प्रवेश गर्नुभएका नेता खड्का २०५२ सालमा तत्कालिन नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववीयु क्रान्तिकारी दोलखाको अध्यक्ष भएर काम गर्नुभएको थियो ।

उहाँ तत्कालिन नेकपा माओवादी दोलखाका संस्थापक नेता रितबहादुर खड्का र २०६४ को संविधानसभा निर्वाचनमा दोलखा क्षेत्र नम्बर १ बाट जितेर भौतिक राज्य मन्त्री बन्नुभएकी माओवादी नेतृ देवी खड्काका सहोदर भाई हुनुहुन्छ । अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष भएको बेला उहाँ रितबहादुर खड्काको भाई भएकै कारण जनयुद्धलाई अप्रत्यक्ष रुपमा सहयोग गरेको भन्दै राज्य पक्षको गिरफ्तारी र यातनामा पर्नुभएको थियो । यसै क्रममा २०५२ बाट माओवादीले शुरु गरेको जनयुद्धमा उहाँ पनि २०५४ सालबाट १६ बर्षको कलिलो उमेरमा भुमिगत हुनुभएको थियो । पार्टीको महत्वपुर्ण जिम्मेवारी लिएर भुमिगत राजनिति गरीरहनुभएका खड्का २०५५ मा नेपाली सेनाको गिरफ्तारीमा परी करिब ८ बर्षे जेल जीवन बिताएर जेलमुक्त हुनुभएको हो ।

२०६३ सालमा तत्कालिन नेकपा माओवादी र सात दलविच बृहत शान्ति सम्झौता भएपछि पार्टीको क्षेत्रिय इन्चार्ज, विदेश विभाग सदस्य र जिल्लामा केहि समय पार्टी अध्यक्षको समेत भुमिकामा रहनुभएका खड्का हाल माओवादी केन्द्र, दोलखाको सहइन्चार्जको भुमिकामा हुनुहुन्छ । २०७० सालको संविधान सभा निर्वाचनमा दोलखा क्षेत्र नम्बर १ बाट उम्मेद्वार बन्नुभएका खड्का एमाले उम्मेद्वार पार्वत गुरुङसँग ठुलो मत अन्तरका साथ तेश्रो बरियतामा रहनुभएको थियो ।

छोटो समयावधिमा पनि नेकपा एमाले र माओवादी केन्द्र नेतृत्वको सरकारले ल्याएका लोकप्रिय कार्यक्रमको सफलता र समृद्ध नेपाल र सुखी नेपाली बनाउने बाम गठबन्धनको नयाँ कार्यक्रमलाई सफल बनाउन दोलखाली जनताहरुले आफूलाई मतदान गरेर विजयी गराउनेमा खड्का ढुक्क देखिनुहुन्छ । यसैगरी नेकपा एमाले जस्तो दोलखामा राम्रो जनआधार र लोकप्रियता कमाएको पार्टीसँगको गठबन्धन र आफू युवा उम्मेद्वार भएका कारण पनि युवा मतदाताको नजरमा आफू पर्ने भएकोले निर्वाचन जित्ने उहाँको दाबी छ ।


बर्मा लामा

नेकपा माओवादी केन्द्र दोलखाका युवा नेता तथा संयुक्त बाम गठबन्धनका उम्मेद्वार विशाल खड्काको मुख्य  प्रतिस्पर्धि हुनुहुन्छ, काङ्ग्रेस महासमिति सदस्य समेत रहनुभएका काङ्ग्रेस उम्मेद्वार बर्मा लामा । २०२० साल फागुनमा दोलखाको डाँडाखर्क गाविसमा मध्यम बर्गीय परिवारमा लामाको जन्म भएको हो । उहाँका पिता बलबहादुर तामाङ राजनितिमा संलग्न भएर तत्कालिन स्थानिय पञ्चायतको प्रधान पञ्च बनेर समेत जनताको सेवा गर्नुभएकै कारण पनि लामालाई राजनितिमा आउन खासै अफ्ठ्यारो भएन । राजनितिक पृष्ठभुमिको पारिवारमा जन्मिनु भएका लामा मेलुङ्गमा रहेको त्रिभुवन माविमा काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघको इकाई सभापति बनेर विद्यार्थी जीवनकालदेखि नै राजनितिमा प्रवेश गर्नभएको हो ।

विद्यार्थी राजनितिमा संलग्न रहेकै बखत उहाँले २०३६ सालको जनमत संग्रह र २०४२ को सत्याग्रहमा भाग लिनु भएको थियो । २०४६ सालको जनआन्दोलनमा नेपाल विद्यार्थी संघ, दोलखाको सभापतिको हैसियतमा सक्रिय सहभागिता जनाउनुभएका लामा २०४९ सालमा नेपाली काङ्ग्रेस दोलखाको जिल्ला समिति सदस्य तथा कार्य सम्पादन समितिको समेत सदस्य बनेर काम गर्नुभएको थियो । विद्यार्थी जीवनबाट राजनितिमा लाग्नुभएका नेता लामा आफ्नो लामो जीवनकाल नै पुर्णकालिन राजनितिमा सर्मपण गर्दै नेपाली काङ्ग्रसको महाधिवेशन प्रतिनिधि हुँदै हाल महासमिति सदस्यको भुमिकामा हुनुहुन्छ ।

गत स्थानिय तहको निर्वाचनमा काङ्ग्रेस माओवादी गठबन्धनबाट मेलुङ्ग गाउँपालिका अध्यक्षको उम्मेद्वार बन्नुभएका लामा एमाले उम्मेद्वार नरबहादुर श्रेष्ठसँग एक सय भन्दा कम मतले पराजित हुनुभएको थियो । बैशाख ३१ गते भएको निर्वाचनमा मेलुङ्ग गाउँपालिका वडा नम्बर १ पवटी घटनाका कारण धेरै मतदाताले दोहो¥याएर गरिएको निर्वाचनमा मतदानमा भाग नलिएका कारण आफूले पराजय व्यहोर्नु परेको भएपनि आसन्न निर्वाचन जित्नेमा लामा ढुक्क भएको बताउनुहुन्छ ।

गत स्थानिय निर्वाचनमै जितको नजिक पुग्नुभएका लामा आफ्नो क्षेत्रमा काङ्ग्रेसको राम्रो जनधार भएको र एमाले उम्मेद्वार समेत नहुनुले एमाले समर्थकको मत समेत आफूलाई आउनेमा आशावादी देखिनुुहुन्छ । बाम गठबन्धन भएकोले पनि यसअघिको एमाले–माओवादी विचको द्वन्द्वका कारण दुई पार्टीका मतदाताविचको तिक्तताले बाम गठबन्धनका उम्मेद्वार खड्का भन्दा आफू थप बलियो रहेको लामाको दाबी छ । आफू निर्वाचित भएपछि आवश्यक विकासका पुर्वाधारहरुको निमार्ण गरेर क्षेत्र नम्बर १ लाई समृद्ध बनाउने योजना रहेको लामाको भनाई छ । हामीसँगको कुराकानीमा लामाले आसन्न निर्वाचनलाई शान्तिपुर्ण बनाउन आफूले अन्य उम्मेद्वारहरुसँग समेत पहल गरेको र कतै मतदाताले स्वतन्त्रता पुर्वक मतदान गर्ने अवस्था सीर्जना नभएमा पार्टीगत रुपमा र व्यक्तिगत रुपमा समेत आफू प्रतिकारका लागि तयार रहेको बताउनुभयो ।

अघिल्ला निर्वाचनको मत विश्लेषण

२०४८ देखि २०७० को संविधान सभा निर्वाचनसम्मको मत परिणाम हेर्दा दोलखाका दुवै क्षेत्रमा अधिकांश समय एमालेले विजय हाँसिल गरेको छ । २०४८ पछि क्षेत्र नम्बर १ मा २०६४ को संविधानसभा निर्वाचमा तत्कालिन माओवादी पार्टीकी देबी खड्का र २०५१ मा काङ्ग्रेस नेता भिमबहादुर तामाङले जिते बाहेक अन्य सबै निर्वाचनमा नेकपा एमालेले विजयी हाँसिल गर्दै आएको छ । यसैगरी गत बैशाखमा सम्पन्न स्थानिय तह निर्वाचनमा क्षेत्र नम्बर १ का  ५ वटा स्थानिय तहमध्ये बैत्यश्वर गाउँपालिका बाहेकका सबै स्थानिय तहमा एमाले एक्लै विजयी भएको थियो । जसमध्ये एमाले एक्लैले २१ हजार ५ सय ८० मत ल्याएको थियो भने नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनले २२ हजार ३ सय ९५ मत प्राप्त गरेको थियो । एक्लैले बहुमत ल्याएको एमालेमा माओवादी केन्द्र पनि मिलेर संयुक्त बाम गठबन्धन बनेकोले पनि प्रदेश सभा क्षेत्र नम्बर १ मा बाम गठबन्धनका उम्मेद्वार विशाल खड्काले जित्न सक्ने अंकगणित देखिए पनि माओवादी र एमाले मतदाताविचको सम्बन्ध पुर्णरुपमा सुधार नभईसकेकोले निर्वाचनको अन्तिम मत परिणाम आउनु अघि यसै भन्न सक्ने अवस्था नरहेको विश्लेषकहरुको भनाई छ ।

दोलखा प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेद्वारहरु पशुपति चौँलागाँई र केशव चौँलागाँईको राजनितिक पृष्ठभुमी लगायतको बारेमा चुनाव विशेष विश्लेषणात्मक लेख भोलि प्रकाशित गर्नेछौं ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!