एमालेका उम्मेदवारको घरमा बम विष्फोट, स्थानीय आतंकित

Posted on: 22 Nov, 2017

मंसिर ५, वीरगञ्ज । एमाले पर्साका प्रदेशसभा उम्मेदवार रामचन्द्र साहको वीरगञ्ज महानगरपालिका वडा नम्बर १० रानीघाट स्थित घरमा बम विष्फोट भएको छ ।

बाम गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नं २ को १ बाट प्रदेश सभा सदस्यका उम्मेदवार रहेका संसदको घरको पूर्वपट्टी झ्यालको तल बम विष्फोट भएको हो ।  बम विष्फोटपछी स्थानीय आतंकित बनेका छन् । बम बिष्फोटको बेला उम्मेदवार साह घर बाहिर थिए तर घरमा छोरा, बुहारी, नाति नातिनीहरु थिए । बम मंगलबार साँझ सवा ७ बजेतिर विष्फोट भएको हो ।

घरको झ्याल नजिकै भएको विष्फोटबाट घरको झ्यालको सिसाहरु फुटेको छ भने घटनाको खबर पाए लगत्तै आएका उम्मेदवार साहले कुनै मानवीय क्षेती नभएको बताएका छन् । 

उम्मेदवार साहको घरमा पड्काईएको बमबारे प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ । ‘विष्फोट भएको छ, मानवीय क्षति भएको छैन् । घरको झ्यालका शिशा फुटेका छन् ।’ प्रहरी नायब उपरीक्षक सापकोटाले भने ‘ प्रहरीले घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!