डडेल्धुरामा ५३ मतदानस्थल संवेदनशील

Posted on: 23 Nov, 2017

मङ्सिर ७, डडेल्धुरा । डडेल्धुरा जिल्लाका ५३ वटा मतदानस्थल संवेदनशील रहेको जनाएको छ । 

डडेल्धुरामा रहेका ७७ मतदानस्थलमध्ये १६ मतदानस्थललाई अति संवेदनशील, ३७ संवेदनशील र २४ मतदानस्थल भने सामान्य रहेका प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताउनुभयो । 

दोस्रो चरण मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भन्दै डडेल्धुराका स्थानीय तहलाई सुरक्षा संवेदनशीलताका आधारमा स्थानीय तहलाई दुई तहमा विभाजन गरेको छ । 

जिल्ला सुरक्षा समितिले डडेल्धुराका सातवटा स्थानीय तहमध्ये सुरक्षा संवेदनशीलताका आधारमा चारवटा स्थानीय तहलाई संवेदनशील र तीनवटा स्थानीय तहलाई अति संवेदनशीलतामा विभाजन गरेको छ । जिल्लामा निर्वाचनका लागि थप सुरक्षा बल खटाइने जनाइएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरामा मतदान गर्ने भएकाले पनि डडेल्धुरा जिल्लालाई उच्च सुरक्षा सतर्कतामा राखिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ । 

डडेल्धुरामा ७७ मतदानस्थल र ११७ मदतान केन्द्र रहेका छन् । डडेल्धुरामा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । संवेदनशील स्थानमा प्रहरी परिचालन गर्नाका साथै म्यादी, जनपथ प्रहरी, सशस्त्र र नेपाली सेना खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!