ओखलढुंगामा भोट किन्ने पैसा खोस्न वाइसिइल र युवा संघको संयुक्त फोर्स परिचालन

Posted on: 24 Nov, 2017

ओखलढुंगा । वाम गठबन्धनमा आबद्ध दलका भातृ संगठनहरुले ओखलढुंगामा मंसिर १० गते हुने पहिलो चरणमा हुने संघीय प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनको मौन अवधिमा विपक्षीले पैसा बाँड्न थालेको भन्दै निगरानी गर्न वाइसिएल र युवा संघको संयुक्त फोर्स परिचालन गरिएको हो ।

बुधबारदेखि नै मौन अवधि शुरु भए पनि मतदाता प्रभावित गर्न विभिन्न गतिविधी हुन थालेका छन् । विपक्षिका यस्ता गतिविधी अनुगमन गरेर पैसा बाड्ने काम रोक्न रेड फोर्स तैनाथी गरिएको गठबन्धनका एक नेताले बताएका छन् । उनका अनुसार जिल्लाका ७५ वटै वडामा ३१ जनाको समुहमा रहेको संयुक्त फोर्स परिचालन गरिएको हो । त्यसरी परिचालित भएको उक्त समुह मतदातासमक्ष नदेखिने, उनीहरुसँग सम्पर्क नगर्ने तर विपक्षी दलका गतिविधीको सुराकी गरेर मतदाता प्रभावित पार्ने काम गर्न लागे अवरोध गर्ने उद्देश्य रहेको छ ।

युवाहरुको फोर्स परिचालन गरिएको विषयमा ती नेताले काँग्रेसका गतिविधी अनुगमन गर्न र पैसा बाँडेमा नियन्त्रणमा लिन युवाहरुको समुह खटाइएको बताएका छन् । उनले मतदातालाई किन्न र त्रसित पार्ने काम रोक्ने उद्देश्य रहेको बताएका छन् ।  विभिन्न स्थानमा पैसा बाँडेका सुचना आएकाले त्यस्ता कार्य रोक्न युवाहरुको समुह सक्रिय पारिएको उनको दावी छ ।

युवा परिचालनका विषयमा युवा संघका जिल्ला अध्यक्ष राजन खत्रीले मतदाता किन्न पैसा बाँड्न थालिएको भरपर्दा सुचना आएपछि पैसा बोकेर हिड्नेहरुको खोजी गर्न युवा संघ र वाइसिएलको संयुक्त टोली परिचान गरिएको पुष्टी गरेका छन् । खत्रीले मतदाता प्रभावित गर्ने, भोट माग्ने र पैसा बाड्ने काम गर्ने समुहलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउने बताए । सबै वडामा संयुक्त टोलीले सुक्ष्म अनुगमन गर्ने खत्रीको भनाई छ ।

स्रोतका अनुसार वाम गठबन्धनका भातृ संगठनहरुले चम्पादेवी, मानेभञ्ज्यांग, सुनकोशी र खिजीदेम्वामा बढी निगरानी बढाएका छन् । अन्य वडाहरुमा समेत नियमित रुपमा युवा परिचालन गरिएको छ ।  

मौन अवधिमा झडप लगायतका घटना बढ्न सक्ने भएकाले सुरक्षा व्यवस्था समेत कडा परिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!