एमालेका दुई सचिवसँग काँग्रेसका दुई चन्द्रको प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

Posted on: 25 Nov, 2017

मङ्सिर ९, गुल्मी । गुल्मीका दुई निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का दुई सचिवसँग नेपाली काँग्रेसका एउटै नाम भएका दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ एमालेका सचिव प्रदीप ज्ञवालीसँग काँग्रेसका नेता चन्द्र भण्डारी र क्षेत्र नं २ मा एमालेका सचिव गोकर्णराज विष्टसँग काँग्रेसका चन्द्रबहादुर केसीको प्रतिष्पर्धा हुँदैछ । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा मुख्य गरी वाम गठबन्धन र काँग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ । 

स्थानीय तह निर्वाचनको मत परिणाम जोड्दा वाम गठबन्धनको स्थिति मजबुत भएकाले एमाले र माओवादी केन्द्रका कार्यकर्ता उत्साहित छन् भने काँग्रेसका कार्यकर्ता विगतमा जस्तो अन्तरघातमा नलागी मतदाता फकाउनमा व्यस्त छन् । जिल्लामा कूल एक लाख ९६ हजार ३४२ मतदाता रहेको क्षेत्र नं १ मा एक लाख तीन हजार तथा क्षेत्र नं २ मा ९४ हजार मतदाता छन् । 

क्षेत्र नं १ मा स्थानीय तहमा प्राप्त मतका आधारमा काँग्रेसभन्दा वाम गठबन्धन १२ हजारभन्दा बढी मतले अगाडि छ । एमाले उम्मेदवार ज्ञवाली पूर्व सांसदका साथै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुनुहुन्छ भने भण्डारी निवर्तमान सांसद हुनुहुन्छ । दूवै बौद्धिक र सरल नेताका रुपमा चिनिनुहुन्छ । 

राष्ट्रिय जनमोर्चाले ज्ञवालीलाई समर्थन गर्ने निर्णय सार्वजनिक गरेसँगै भण्डारीलाई थप चुनौती थपिएको छ । नेता ज्ञवालीले विगतमा शुरु गरेका रेसुङ्गा विमानस्थलजस्ता विकासका कार्यक्रममा बजेट कम पठाएर काँग्रेसले पूर्वाग्रह गरेको तर जिल्लाको विकास आफूले गरेको भनी प्रचार गरिएको दाबी गर्नुहुन्छ । नेता भण्डारीले भने आफूले विकासका काम व्यापक गरेकाले त्यसको प्रचार हुनु स्वाभाविक भएको तर्क गर्नुहुन्छ । 

क्षेत्र नं २ मा एमालेका सचिव एवं पूर्व ऊर्जामन्त्री विष्ट र काँग्रेसका पूर्व जिविस सभापति केसीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । विष्ट निवर्तमान सांसदका साथै स्थानीय तहमा भिजेको नेता मानिनुहुन्छ । यस क्षेत्रमा पनि स्थानीय तहको निर्वाचनमा वाम गठबन्धनको मत १३ हजारले अघि देखिएकाले गठबन्धन ढुक्क देखिएको छ । 

विष्टले त त्योभन्दा बढी मतान्तर ल्याउने उद्घोष गर्दै आउनुभएको छ । सचिव विष्ट आफूसँग कसैको प्रतिस्पर्धा नभए पनि जनतासँग प्रत्यक्ष भेट्न र उनीहरुका कुरा सुन्नका लागि घरदैलोमा रहेको बताउनुहुन्छ भने काँग्रेसका उम्मेदवार केसी लोकतन्त्र र समृद्धिका लागि आफू विजयी हुनुपर्ने जिकिर गर्नुहुन्छ । 

विष्टले आफ्नो क्षेत्रमा सबै परिवारमा निःशुल्क बाख्रा वितरण, घर घरमा पानी र बिजुली उपलब्ध गराउनुका साथै क्षेत्रभरिका सबै घर एउटै रंगको टिनको छानायुक्त बनाउने घोषणा गर्नुभएको छ । 

क्षेत्र नं १ को प्रदेशसभामा वाम गठबन्धनबाट सुदर्शन बराल र कमलराज श्रेष्ठ तथा काँग्रेसबाट पृथ्वी फौजदार र धनेन्द्र कार्की उम्मेदवार हुनुहुन्छ । क्षेत्र नं २ को प्रदेशसभामा वाम गठबन्धनबाट खड्गबहादुर खत्री र दिनेश पन्थी तथा काँग्रेसबाट शालिक पन्थी र छन्द पहराई उम्मेदवार रहनुभएको छ । 

निर्वाचनका लागि मुख्य दलले तानसेन रिडी तम्घास सडक तथा रिडी रुद्रवेणी वामीटक्सार सडक कालोपत्र, कालीगण्डकी करिडोर, रेसुङ्गा विमास्थलमा परीक्षण उडान, शिक्षा, स्वास्थ्य र खानेपानी योजना तथा जिल्लालाई पर्यटकीय गन्तव्य बनाउने जनाएका छन् । जिल्लामा स्वतन्त्रसहित नौ दलका गरी ५२ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । प्रकाश सिलवाल/रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!