प्रचण्डले सम्बोधन गरेको सभालाई लक्ष्य गरी बम विस्फोट

Posted on: 02 Dec, 2017

मङ्सिर १६, कपिलवस्तु । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको सभालाई लक्ष्य गर्दै जिल्लाको मायादेवी गाउँपालिका पकडीमा बम विस्फोट गराइएको छ । 

वाम गठबन्धनले आज आयोजना गरेको आमसभालाई सम्बोधन गर्न जिल्लाको पकडी पुग्नुभएका पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले आमसभामा सम्बोधन टुँग्याएलगत्तै ठूलो आवाजका साथ विस्फोट भएको छ । 

सभा समापन भइसकेका कारण विस्फोटबाट भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ । विष्फोटको आवाजसँगै सभामा आएका सर्वसाधारणको भागाभाग भएको छ । 

पूर्व प्रधानमन्त्री दाहालले सम्बोधन गरेको मञ्चबाट करिब १०० मिटरको दूरीमा विस्फोट भएको हो । घटनास्थललाई नियन्त्रणमा लिएर नेपाली सेनाको टोलीले अनुसन्धान गरिरहेको छ । 

मतदानको दिन नजिकिँदै गर्दा जिल्लामा बम विस्फोटका घटना बढ्न थालेको छ । शुक्रबारमात्रै जिल्लाका विभिन्न तीन स्थानमा बम विस्फोट भएको थियो । जिल्लामा थप बम विस्फोटका घटना हुन नदिन र मतदान प्रक्रिया भयरहित वातावारणमा सम्पन्न गराउन जिल्लाका तीनवटै सुरक्षा निकायलाई सघन ढंगबाट परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!