काँग्रेस उम्मेदवार पौडेलद्वारा ड्रोनबाटै चुनाव प्रचार, स्थानीय बासिन्दा आश्चर्य चकित

Posted on: 04 Dec, 2017

मङ्सिर १८, दमौली (रासस) | नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं १ का प्रदेश सभा १ का उम्मेदवार प्रदीप पौडेलले ड्रोनको प्रयोग गरी चुनावी प्रचारमा जुटेका छन् । 

तनहुँको सिसाघाटमा आइतबार आयोजित चुनावी कोण सभामा ड्रोनको प्रयोग गरी काँग्रेसको प्रचार गरिएको थियो । सो चुनावी सभामा ड्रोनबाट पुष्पवृष्टि गरिएको हो । काँग्रेसले चुनावमा मतदातालाई आकर्षण गर्न पनि नयाँ नयाँ प्रविधिद्वारा प्रयोग गरेको उहाँले बताउनुभयो । ड्रोनमा पोस्टर, पम्प्लेट र ब्यानर राखेर रिमोट कन्ट्रोलको सहायताले मानिस जान नसक्ने ठाउँमा सजिलैसँग पुर्याएर प्रचारप्रसार गर्ने गरिएको छ । फ्रेममा राखी पोस्टर, पम्प्लेट फ्लाइड कन्ट्रोल र रिसिभर एण्ड ट्रान्समिटरको प्रयोग गरी ड्रोनलाई जमिनदेखि २०० फिट माथि उडाएर प्रचार प्रसार गरिँदै आएको छ । 

सिनर्जी अटो मेसन एण्ड इन्स्टुमेनटेशन कम्पनीमा आबद्ध शैलेश सुवेदी, प्रमोदसिंह मन्याल, निरज खड्का, कुन्दन खड्का, इमेश सापकोटा र नवीन पौडेलले दुई हप्ता लगाएर ड्रोनको आविष्कार गरेका छन् । रु एक लाखभन्दा बढी खर्च गरी ड्रोन निर्माण गरिएको कम्पनीका शैलेश सुवेदीले बताउनुभयो ।

ड्रोनको प्रयोग गरी नयाँ शैलीको चुनावी प्रचार देखिएपछि व्यास नपा–६ सिसाघाटका देवराज ढुंगाना दंग परे । आकाशमा उडेर ड्रोनले काँग्रेसको झण्डा फहराई प्रचार गरेको देख्दा लोकराम छिमाल पनि हेरेको हेरै भए । आफूहरुको पालामा चुनाव हुँदा लेप्चे लगाएका आधुनिकतासँगै चुनावी प्रचारको तरिका फेरिएपछि स्थानीय बासिन्द आश्चर्य चकित भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!