यस्तो छ प्रतिष्पर्दा– अर्जुनजोशीलाई चुनौतीनै चुनौती, पदम गिरीलाई अबसरनै अबसर

Posted on: 04 Dec, 2017

(समाचार टिप्पणी)/पर्वत । आगामी मंसीर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पर्वतबाट बामगठबन्धनको तर्फबाट नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका पदम गिरी र लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अर्जुन जोशी वीच प्रतिस्पर्धा हुँदैछ । गिरी विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा सक्रिय बनेका युवा नेता हुन । उनी पर्वतबाट ३ पटकसम्म प्रतिनिधि सभाको निर्वाचनमा विजयी हासिल गरिसकेका जोशीसंग प्रतिस्पर्धा गर्दैछन । बामगठबन्धनको साझा उमेदवार बनेका गिरी पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व स्ववियू सभापति समेत हुन । गिरी आफ्ना प्रत्येक निर्वाचनमा म्यान अफ दि म्याच भई विजयी हासिल गर्दै आईरहेका युवा नेता हुन भने जोशी संसदीय राजनीतिमा अपराजित नेता हुन ।

निकै रोमाञ्चक मानिएको पर्वतको प्रतिनिधि सभाको निर्वाचनको प्रचार प्रसारको क्रममा गिरी पक्षधर समूहले जोशीले लामो समय संसदीय राजनीतिमा पकड जमाएर पनि जिल्लामा विकास नगरेको आरोप लगाउँदै आएको छ । निर्वाचन केन्द्रित टुक्रे योजनाहरुमा मात्र ध्यान दिने गरेका जोशीले मतदाता प्रभावित पार्न तार, जाली र पाइपको मात्र राजनीति गरेको भन्दै बामगठबन्धनले जिल्लालाई विकसित बनाउन आफ्नो पक्षमा मतदान गर्न अनुरोध गर्दै आईरहेको छ । उता, जोशीले भने जिल्लाका विजुली, खानेपानी, शिक्षा र सडकको क्षेत्रमा भएका प्रगति सवै आफूले गरेको भन्दै विकास निर्माणका लागि आफ्नो पक्षमा मतदान गर्न आब्हान गर्दैै आईरहेको छ ।  राजनैतिक दलहरुले आफ्नो पक्षमा मतप्रभावित गर्न चुनावी कार्यक्रमहरु पनि संगै संगै सञ्चालन गरिरहेका छन । युवा पुस्ताको प्रतिनिधित्व गर्दै जोशीसंग प्रतिस्पर्धामा उत्रिएका युवा नेता गिरीलाई युवा पुस्ता निकै ठूलो क्रेज देखिन्छ ।

जोशीलाई संकट
संसदीय राजनीतिमा अराजीत जोशीलाई सवैभन्दा ठूलो समस्या आफ्नै पार्टी भित्र छ । कांग्रेस र संसदीय राजनीतिमा सधै पकड जमाउन सफल जोशीलाई पार्टीका उपल्लो स्तरका कार्यकर्ताहरुले पार्टी भित्र अधिनायकबाद लादेको भन्दै विरोधमा छन । ३ पटक सांसद, पटक पटक जिल्ला सभापति र पछिल्ला जिल्ला अधिवेशनहरुमा जोशीको हस्तक्षेपकारी भूमिका कारण उनी आफ्नै पाटी भित्र कमजोर बन्दै गएका छन । संसदीय जिम्मेवारीमा लामो समय विताएर पनि जिल्लामा देखिनेगरी उल्लेखनीय ठूला योजनाहरु नभित्राएको भन्दै पाटी भित्रकै युवा पुस्ता पनि जोशी प्रति निराश छन ।

अर्को तर्फ, लामो सयम जिल्लामा देउवा समूहलाई जोशीले कमजोर बनाउँदै आएका कारण उनीसंग ठूलो पंक्ति रुष्ट छ । देउवा समूहप्रति जिल्लामा सधै आक्रामक हुने जोशी पछिल्लो महाधिवेशनमा भने देउवा समूहमा लागे । जोशीले समूह परिर्वतन गरेसंगै उता, पौडेल पक्षका नेताहरुलाई जोशीलाई अवसरबादीको आरोप लगाउँदै आएका छन । स्थानीय तहको निर्वाचनमा समेत जोशीले हस्तक्षेपकारी भूमिका खेलेर पाटी राजनीतिमा योगदान नभएकाहरुलाई टिकट दिएको भन्दै क्षेत्रीय सभापति देखि तल्लो स्तरका कार्यकर्तासम्म उनीप्रति खुलेरै रुष्ट बनेका छन । जोशी प्रति आफ्नै पाटी भित्र समस्या रहेको अर्को प्रमाण कांग्रेस नेताले प्रस्तुत गरेको बागी उमेदवारी पनि हो । पाटीले योगदान र भूमिकाको भन्दा पैसा र शक्तिको पुजा गरेको भन्दै पछिल्ला दिनमा कांग्रेसका इमानदार कार्यकर्ताले दुःख पोख्दै आएका छन ।
इच्छा विपरित उमेदवारी : जोशीले यो निर्वाचनमा आपूmले जसरी पनि टिकट पाउनुपर्नेछ भन्ने लबिमा थिएनन । उनले संसदीय राजनीति मार्फत जिल्लालाई ठूलो योगदान पुराउन नसकेको भन्ने कार्यकर्ताको मनोभावना र आाफ्नै नेता कार्यकर्ताको असन्तुष्टिको सम्मान गर्दै सर्वसहमत सहयोग मिल्ने अवस्थामा मात्र आफू उमेदवार बन्ने बताउँदै आएका थिए ।

जोशीलाई अवसर
आफ्ना प्रतिस्पर्धी संसदीय राजनीतिमा प्रवेश मात्र गर्ने चरणमा रहेका कारण त्यो चरणमा आफूलाई अब्बल सावित गरेर संसदीय राजनीतिमा आफूलाई निरन्तरता दिनसक्ने जोशीलाई ठूलो अवसर पनि छ । मतदातालाई प्रभावित पार्नसक्ने खुबी राख्ने जोशीले यो पटक निर्वाचनमा विजय हासिल गरेमा जिल्लामा कम्युनिष्ट आन्दोलन भने कमजोर सावित हुनेछ । कम्युनिष्टहरुको संख्या धेरै रहेको जिल्लामा जोशीले बिजयी हासिल गरेमा उनी राजनीतिमा थप अब्बल भने ठहरीनेछन ।

गिरीलाई अवसरको चाङ
विद्यार्थी राजनीतिबाट पार्टीको मुल राजनीतिमा सक्रिय बनेको छोटो अवधिमै गिरीले प्राप्त गरेको राजनैतिक सफलता जोगिन्छ या जोगिदैन त्यो मंसीर २१ गते पछि थाहा हुन्छ । युवा पुस्तामा लोकप्रिय बन्दै आफ्नो राजनैतिक जीवनलाई सक्रिय बनाउँदै आएका गिरी जिल्लाको संसदीय राजनीतिका चतुर र सफल खेलाडीसंगै एकै पटक चुनावी मैदानमा होमिनु आफैमा उनको सफलता हो । स्थानीय तहको निर्वाचनमा समेत सम्भावित उमेदवारको लिस्टमा रहेका गिरीले संसदीय राजनीतिमा चाहना देखाउँदै स्थानीय तहमा उम्मेदवार बनेनन । उनी माझ पार्टी भित्रका युवा पुस्ता र विपक्षी दल कांग्रेसका समेत युवा पिढिको सहयोग र सहानुभूति देखिन्छ । यो पटक उनी सफल हुनु भनेको जिल्लाका कम्युनिष्ट राजनीतिमा नयाँ छलाङको संकत हुनेछ । कारण उनले कम्युनिष्ट शक्तिलाई जिल्लामा सधै कमजोर बनाउँदै आएका जोशीसंग प्रतिस्पर्धा गर्दैछन ।

अवसर भित्रको चुनौति
पछिल्लो पुस्तामा चर्चित बनेका गिरी माझ आफ्नै पार्टी भित्रका पुरानो पुस्ताका नेतालाई रिझाउन चुनौति देखिन्छ । उमेदवार छनौटको बेलामा उदारता देखाएका पुराना पुस्ताका नेताहरुले यो चुनावमा बामगठबन्धन र मुख्य गरी गिरीलाई कुन हदसम्मको सहयोगमा हृदय ठूलो बनाउनेछन त्यो गिरीको लागि चुनौतिको बिषय बन्नसक्छ । बाम शक्ति भित्र मुख्य गरी एमालेमा विगत लामो समय देखि अरु सवै बेला पाटीको राजनीतिमा सक्रिय हुने र चुनावको मुखमा आफ्ना नेता हराउन सक्रिय हुने केहि नेताहरुको रोग यस पटक सर्छ वा निर्मूल हुन्छ त्यो विषय यस पकट पनि चुनौतिको बिषय बनेको छ । अर्को तर्फ आर्थिक रुपमा निकै सम्पन्न परिवारका जोशीले चुनावमा गर्नसक्ने आर्थिक चलखेल र मतदाता प्रभावितका लागि खर्चिने रकमलाई टक्कर दिदै मतदाता खरिद विक्री प्रक्रिया रोक्ने सामथ्र्य जुटाउनु पनी गिरीको लागि चुनौतिको बिषय छ ।

जोशी एजेण्डा विहिन, गिरीसंग एजेण्डै एजेण्डा
लामो समय संसदीय राजनीतिमा सक्रिय जोशीले जिल्लामा उल्लेख्य विकास नगरेको आरोप गिरी पक्षधरको छ । जोशीले कुश्मामा रहेको आफ्नै घर अगाडि बाटो कालोपत्रे गर्ने बजेट उपलब्ध गराउन नसकेर स्थानीयले तत्कालीन जिल्ला परिषद अवरुद्ध बनाउँदै जिल्ला विकास समितिबाट बजेट विनियोजन गरी बाटो कालोपत्रे गरेको दृष्टान्त देखाउँदै गिरीपक्षधरले जोशीले जिल्लालाई कुनै ठूलो गुन नलागएको आरोप लगाउँदै आएको छ । जोशीले आफ्ना एजेण्डा राखेर मतदातालाई प्रभावित प्रभावित पार्नुको सट्टा बामशक्तिको आरोप खण्डन गर्दैमा समय वितिरहेको छ । गिरी नयाँ अनुहार भएकाले मतदाताले उनलाई कुनै आरोप लगाउन नपाउँदा जोशी धेरै हदमा कमजोर उमेदवार सावित भने हुँदै गएका छन । यद्यपि जोशी पक्षले भने जिल्लाका सवै सडक, विद्युत, शिक्षा र खानेपानीका योजनाहरु जोशीले गर्दा नै सम्भव भएको दावी गर्दै आइरहेका छन ।

जोशी पक्षधरले लोकतान्त्रिक समूहले विजय हासिल नगरेमा देशमा आउनसक्ने सम्भावित अधिनायकबादसंग जोगिन मतदातालाई आग्रह गरेका छन । उता, गिरीले भने विदेशीएका युवाहरुलाई स्वदेशमै रोजगारीका वातावरण सृजना गराउन र जिल्लाका प्रचुर सम्भावनायुक्त विकास योजनाहरुलाई कार्यान्वयन गराउन आफ्नो पक्षमा मत मागिरहेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!