लमजुङमा चिर्पटले हानेर एक युवकको हत्या

Posted on: 05 Dec, 2017

मङ्सिर १९, लमजुङ । लमजुङमा चिर्पटले हानेर एकजनाको हत्या भएको छ । 

राइनास नगरपालिका–९ कुँडुलेका हितमान श्रेष्ठको हत्या भएको हो । सोही गाउँका ३६ वर्षीय बेलबहादुर गुरुङले श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ । 

गत ११ गते सोमबार साँझ एकापसमा झगडा भएपछि गुरुङले चिर्पटले हान्दा श्रेष्ठ गम्भीर घाइते हुनुभएको थियो । गम्भीर घाइते श्रेष्ठलाई उपचारको लागि जिल्ला सामुदायिक अस्पताल बेँसीशहर ल्याइएको थियो । 

जिल्लामा उपचार हुन नसकेपछि श्रेष्ठलाई पोखरा लगिएको र पोखराबाट पनि थप उपचारको लागि काठमाडौँको न्यूरो अस्पताल लगिएको थियो । काठमाडौँमा उपचारकै क्रममा सोमबार श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठ स्थानीय रत्न प्राविका पूर्व प्रधानाध्यापक हुनुहुन्थ्यो । 

श्रेष्ठको मृत्युपछि अभियुक्त गुरुङ फरार छन् । फरार अभियुक्तको खोजी कार्य तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!