निर्वाचनलाई लक्षित गरी अछाम दुई हजार सुरक्षाकर्मी खटाईयो

Posted on: 05 Dec, 2017

मंसिर १९, अछाम । प्रतिनिधि र प्रदेशसभाको दोस्रो चरणको चु्नावलाई लक्षित गरी अछाममा सुरक्षा व्यबस्था थप मजबुत पारिएको छ । 

अछामका प्रहरी नायव निरीक्षक डिएसपि दधिराम पाण्डेका अनुसार जिल्लामा शान्ति सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी परिचालन गरिएको बताइएको छ । जिल्ला भरी २ हजार सुरक्षाकर्मी खटाइएको उहाँले जानकारी दिनुभयो । 

अछाम जिल्लाका ५५ मतदानस्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले निष्कर्ष निकालेको छ । १ सय ९७ मतदानस्थललाई सुरक्षाका हिसावमा ५५ अतिसंवेदनशील, ६५ संवेदनशील र ९ सामान्य गरी तीन प्रकारमा वर्गीकरण गरिएको समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले जानकारी दिनुभयो । अछाममा स्थानीय तह चुनावका दिन केही मतदान केन्द्र नजिक बम समेत विस्फोट भएका थिए । 

अछामका दुर्गम क्षेत्रमा रहेका ६७ स्थानबाट हेलिकप्टरमार्फत मतपेटिका सदरमुकाम मंगलसेनमा ल्याउन सिफारिस गरिएको चौधरीले बताउनु भयो । अघिल्लो चुनावमा अछामको रहफ, सिउडी लगायतका स्थानबाट हेलिकप्टरमार्फत मतपेटिका ल्याइएको बताइएको छ । 

‘सवारी साधनको अवस्था हेरेर हेलिकप्टर परिचालन हुने प्रजिअ चौधरीले बताउनुभयो । अछाम जिल्लामा ६४ हजार ७ सय ७६ पुरुष, ७२ हजार १ सय २५ महिला र दुई तेस्रो लिंगी गरी १ लाख ३६ हजार ९ सय ३ मतदाता रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!