सिरहामा मतगणना सुरु

Posted on: 08 Dec, 2017

मङ्सिर २२, सिरहा । सिरहामा मतगणना सुरु भएको छ। प्रतिनिधिसभा ३ र प्रदेशसभा ३(क)को मतगणना आज बिहान ११: ४० बजेबाट सुरु भएको छ। बाँकी क्षेत्रको पनि मतगणनाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

सिरहा प्रतिनिधिसभा ३ मा वाम गठबन्धनका उम्मेदवार लीलानाथ श्रेष्ठ र संघीय समाजवादी फोरम नेपालका उम्मेदवार असेश्वर यादबबीच कडा प्रतिस्पर्धा हुने चर्चा छ।

श्रेष्ठ नेकपा एमालेका केन्द्रीय सदस्य हुन्। उनी दोस्रो संविधानसभाको निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डसँग थोरै मतानन्तरले पराजित भएका थिए। तर यो चुनावमा वाम गठबन्धन बनेपछि उनले जित्ने आँकलन गरिएपनि फोरमका उम्मेदवार यादवले कडा टक्कर दिने स्थानीयहरु बताउँछन्।

यस्तै प्रदेशसभा ३ (क)मा वाम गठबन्धनका उम्मेदवार रामकुमार यादव, फोरम उम्मेदवार मनोज सिंह र कांग्रेस उम्मेदवार मुस्ताक अन्सारीबीच प्रतिस्पर्धा हुने चर्चा चलेको छ। माओवादी नेता तथा पूर्व सामान्य प्रशासन मन्त्री समेत रहेका वाम गठबन्धनका उम्मेदवार यादवको जीत यस प्रदेशसभा क्षेत्रमा मजबुत देखिएको छ।

मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पार्नुका साथै तारजाली र सिसि क्यामेरा समेत जडान गरिएको छ। बाँकी तीन प्रतिनिधिसभा र ७ प्रदेशसभामध्ये ३ प्रदेशसभा निर्वाचन क्षेत्रको मतगणना पनि केहीबेरमा सुरु हुने मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिए।

चार प्रतिनिधिसभा र ८ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सिरहामा ७०.७९ प्रतिशत मत खसेको छ। जिल्लामा कूल ३ लाख ४४ हजार ७३० मतदाता रहेकोमा २ लाख ४३ हजार ७९३ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!