ओखलढुंगामा वाम गठबन्धनको ‘क्लीन स्वीप’

Posted on: 09 Dec, 2017

पूर्णप्रसाद न्यौपाने/मङ्सिर २३, ओखलढुंगा । नेपाली काँग्रेसले आफ्नो गढको रुपमा दावी गर्दै आएको ओखलढुंगामा संघीय प्रतिनिधी सभा र प्रदेश सभाका तीनै सिट जितेर वाम गठबन्धनले क्लीन स्वीप गरेको छ । 

संघीय प्रतिनिधी सभामा  गठबन्धनका उम्मेदवार एमालेका केन्द्रिय सदस्य विजयी हुनुभयो । उहाँले काँग्रेसका रामहरि खतिवडालाई ५ हजार २ सय ५३ मतले पछि पार्नुभयो । 


एमाले नेता तथा वाम गठबन्धनका उमेद्वार सुनुवार ३२ हजार ५ सय ८० मत ल्याउनुभयो भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामहरि खतिवडाले २७ हजार ३ सय २७ मत ल्याउनुभएको छ ।

त्यस्तै ओखलढुंगाको प्रदेश क मा वाम गठबन्धनका उम्मदवार अम्बीरबाबु गुरुङ विजयी भए । वामगठबन्धनको तर्फबाट उम्मेदवार बनेका गुरुङले १८ हजार ९ सय ८ मत प्राप्त गरि विजयी भएका हुन् । 

गुरुङले प्रतिद्वन्दी काँग्रेसका मित्रसेन दाहालले ११ हजार ९ सय ६ मत पाए । गुरुङले लोकतान्त्रिक गठबन्धनका दाहाललाई ७ हजार दुई मतले पछि पार्नुभएको छ  ।  संघीय समाजवादी फोरमका नरेश नेम्वाङ २ सय ९९ मत ल्याएर तेस्रो स्थान हासिल गर्नुभएको छ ।


प्रदेश सभा  ख मा गठबन्धनमा माओवादी केन्द्रका मोहन खड्का विजयी हुनुभयो । उहाँले काँग्रेसका प्रदिप सुनुवारलाई १५ हजार ४ सय ४५ मत ल्याएर पछि पार्नुभयो । उहाँले काँग्रेसका सुनुवारभन्दा १ हजार ७ सय ७४ मत बढी पाएका छन् । 

यस सँगै वाम गठबन्धनले ओखलढुंगामा क्लीव स्वीप गरेको हो । यस क्षेत्रमा काँग्रेसका विद्रोही उम्मेदवार ज्ञानेन्द्र रुम्दालीले १ हजार ८ सय ५८ मत ल्याएका छन् । काँग्रेसको टिकट वितरणमा असहमति जनाउँदै विद्रोह गरेर उम्मेदवार बनेका रुम्दालीको उम्मेदवारीले खड्कालाई सहज भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!