भक्तपुर २ मा वाम गठबन्धनको विजयी

Posted on: 10 Dec, 2017

मङ्सिर २४, भक्तपुर । भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभाको दुईवटै सिटमा वाम गठबन्धनले जित हासिल गरेको छ । 

क्षेत्र नं २ मा वाम गठबन्धनका नेकपा(एमाले) उम्मेदवार महेश बस्नेतले नेपाली काँग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानालाई झण्डै दोब्बर मतले पराजित गर्नुभएको छ । 


गएराति अबेर सम्पन्न मतगणनामा बस्नेतले ३६ हजार ४१२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी काँग्रेसका ढुंगानाले १८ हजार ६८७ मत प्राप्त गर्नुभयो । त्यस्तै, नेमकिपाकी अनुराधा थापा मगरले पाँच हजार ४७१ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी क्षेत्र नं २ को प्रदेशसभा १ मा वाम गठबन्धनका उम्मेदवार एमालेका शशिजंग थापा र प्रदेशसभा २ मा वाम गठबन्धनकै उम्मेदवार एमालेका राजेन्द्रमान श्रेष्ठ विजयी हुनुभएको छ । 

प्रदेशसभा १ मा (एमाले)का थापाले काँग्रेसका अंगत खड्कालाई १० हजार ४०० मतान्तरले पराजित गर्नुभयो । एमालेका थापाले १९ हजार ५१५ मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका खड्काले नौ हजार ११५ मा चित्त बुझाउनुभएको छ ।  

यसैगरी, भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा २ मा पनि एमालेका राजेन्द्रमान श्रेष्ठले काँग्रेसका गणेशमान चक्रधरलाई दुई हजार ६९१ मतान्तरले हराउनुभएको छ । 

एमालेका श्रेष्ठले १४ हजार २२९ मत ल्याएर विजयी हुँदा काँग्रेसका चक्रधरले ११ हजार ५३८ मा चित्त बुझाउनुभएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!