प्रदेश ५ को राजधानी कहाँ राख्ने भन्नेबारे अध्ययन टोलीले निकाल्यो यस्तो निष्कर्ष

Posted on: 22 Dec, 2017

पुस ७, दाङ । सरकारले खटाएको अध्ययन टोलीले प्रदेश-५ को राजधानी दाङमै उपयुक्त हुने निष्कर्ष निकालेको छ । 


सुरेश प्रधानको संयोजकत्वमा अध्ययन गरेको टोलीले प्रदेश-५ को राजधानीको स्थान पहिचान, अध्ययन तथा विश्लेषण गर्दा दाङनै उपयुक्त हुने निष्कर्ष निकालिएको हो । अध्ययन टोलीका सदस्यसचिव एवम् भवन डिभिजन कार्यालय दाङका प्रमुख राजेन्द्रप्रसाद पाण्डेले राजधानीका लागि आवश्यक भौतिक संरचनाहरु प्रयाप्त र तयारी अवस्थामा रहेकोले दाङनै उपयुक्त हुने बताए । भूगोल, सुरक्षा, हावापानी जस्ता सबै हिसाबले दाङलाई नै प्रदेश राजधानी बनाउन उपयुक्त रहेको निष्कर्ष निकालिएको र सोहि अनुसारको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको उनले बताए ।


दाङमा प्रदेस राजधानी कायम भएमा नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको नवनिर्मित आयुर्वेद भवनमा प्रदेश सभा हल, सात वटा मन्त्रालय, सभामुख, उपसभामुखको कक्ष, मुख्य मन्त्रीको कक्ष र संसदीय दलको कार्यालय बनाइने भएको छ । यस भवनमा १०८ वटा कोठाहरु छन् ।

त्यसैगरी, घोराहीमा जिल्ला समन्वय समितिको कार्यालयमा प्रदेश प्रमुखको कार्यालय, कृषि विकास बैंकको आवास कक्षलाई मुख्यमन्त्रीको आवासका रुपमा प्रयोग गर्न सकिने अध्ययन टोलीले निष्कर्ष निकालेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!