म्यादी प्रहरी मृत्यु घटनाको छानविन हुनुपर्छ: मन्त्री शाही

Posted on: 23 Dec, 2017

पुस ८, काठमाडौँ । विना विभागीयमन्त्री महेन्द्रबहादुर शाहीले यही पुस ७ गतेका दिन कालिकोटको सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । 


उहाँले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी यस्तो दुःखद घटना हुनुका कारण पत्ता लगाइ दोषीमाथि कारबाही गर्न माग पनि गर्नुभयो । 

सान्नी त्रिवेणी, चार तिकुवाका हरि ऐडीका २१ वर्षीय छोरा मृतक विवेक ऐडीको घर परिवारलाई उचित राहत तथा क्षतिपूर्ति र घाइतेलाई यथाशीघ्र उपचारको व्यवस्था गरिदिन सरकारसँग माग गर्दछु, विज्ञप्तिमा उहाँले भन्नुभएको छ । 

यस दुःखद घडीमा सबै पक्ष संयमित भई जिल्लाको शान्ति सुरक्षालाई थप उत्तेजित पार्ने स्थिति नहोस् भनी सम्बन्धित पक्षलाई सचेत रहनसमेत विज्ञप्तिमार्फत उहाँले सबैमा आग्रह गर्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!