६ दिनपछि विवेक ऐडिको अन्त्यष्टि, काठमाडौँ फर्कियो छानबिन टोली

Posted on: 27 Dec, 2017

पुस १२, कालीकोट । प्रहरीको गोली लागेर मारिएका म्यादी प्रहरी विवेक ऐडिको ६ दिनपछि बुधबार अन्त्यष्टि गरिएको छ ।

शुक्रबार प्रहरीको गोली लागेर ज्यान गुमाएका म्यादी प्रहरी ऐडिको बुधबार कालीकोटको शान्तिघाटमा अन्त्यष्टि गरिएको हो । मंगलबार मृतकका आफन्तहरुले जिल्ला अस्पताल कालिकोटमा पोष्टमार्टम पछि शव बुझेर शान्तिघाट लिएपछि बुधबार परम्परागत अनुसार अन्त्यष्टि गरिएको हो ।

म्यादी प्रहरीले ज्याला कम भएको भन्दै गरेको आन्दोलनमा प्रहरीको गोली लागेर ज्यान गुमाएका विवेक ऐडीको घटनाको छानबिनमा आएको उच्च स्तरीय छानविन समिति पनि बुधबार काठ्माण्डौ फर्किएको छ । गृह मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा गठित समितिले कालिकोट आएर मृतकका आफन्त, विभिन्न सरोकारवालाहरु, स्थानीयबासीसँग बुझ्नुका साथै घटनास्थलको स्थलगत निरीक्षण गरि काठ्माण्डौ फर्किएको हो ।


गृह मन्त्रालयका सहसचिव मानबहादुर बिश्वकर्मा संयोजक, नेपाल प्रहरीका डिआईजी रमेश खरेल, सशस्त्र प्रहरीका डिआईजी प्रविण श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका डिआईजी लक्ष्मण गुरुङ रहेको टोलीले म्यादी प्रहरीले पाएको सेवा सुविधाको छानविनका साथै घटनाका अन्य तथ्याङ्कहरु संकलन गरेको छ । उच्च स्तरीय छानविन समितिका संयोक बिश्वकर्माले घटनाको छानविनमा कुनै कसुर बाँकी नराख्ने बताए ।

काठमाण्डौ फर्किनु अघि पत्रकारसँग कुरा गर्दै उनले आफुहरुले घटनाका सबै तथ्यहरु संकलन गरी लगेको र पीडितका मागहरुलाई सम्बोधन गर्न लाशको पोष्टमार्टम रिपोर्ट लगायतका प्रमाणका आधारमा गृहमा सिफारिस गर्ने जानकारी दिए । उनले छानविनका क्रममा म्यादी प्रहरीको सेवा सुविधामा कुनै अनियमितता नभएको पाईएको बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!