रोल्पामा नारबाजीबीच गाउँपालिकाको नाम परिवर्तन

Posted on: 28 Dec, 2017

मनिषा राई/पुस १३, रोल्पा । चर्को नाराबाजी र विरोधबीच रोल्पाको सुवर्णावती गाउँपालिकाको नाम परिवर्तन भएको छ । 

दोस्रो गाउँसभाबाट बुधबार साँझ ‘सहिद सुनिल स्मृति गाउँपालिका’नामाकरण गर्ने निर्णय गरिएको हो । पुस ७ गतेको गाउँपालिकाको बैठकमा नाम परिवर्तन गर्ने प्रस्ताव पेश गरिएपछि विरोध हुँदै आएको थियो । नाम परिवर्तनमा विरोध हुने भएपछि बिहानैदेखि गाउँपालिकाको परिसरमा प्रहरीको सुरक्षाका साथ दोस्रो गाउँसभाले बहुमतबाट नाम परिवर्तन गरेको हो । 

४४ सदस्यीय गाउँसभामा १९ जनप्रतिनिधिले नाम परिवर्तनको निर्णयमा असहमति जाहेर गरेका छन । बहुमतको दम्भ देखाउँदै गाउँपालिकाको नाम परिवर्तन गर्न खोजिएको भन्दै ४ नम्बर वडा अध्यक्ष गञ्ज क्षेत्रीको नेतृत्वको जनप्रतिनिधिले दिनभर विरोध जनाइरहको थिए ।

बहुमतबाट नाम परिवर्तन गरिएपछि सभा कक्षमै विमती राख्ने जनप्रनिधिले नारा लगाएका थिए । ‘गाउँपालिकाको नाम फेर्न पाइदैन, बहुमतको दम्भ देखाउन पाइदैन, गाउँपालिको नाम परिवर्तन गर्ने निर्णय मान्दैनौं,’ लगायतका नारा निरन्तर लगाएका थिए । 


नेपाली कांग्रेसबाट उम्मेदवार बनेर विजयी बनेका जनप्रतिनिधिले नाम परिवर्तन गर्न नहुने अडान लिएका थिए । असन्तुष्ट बजारवासी र माओवादी केन्द्र बाहेक अन्य दलका नेता कार्यकर्ताले पनि गाउँपालिका बाहिर विरोध प्रदर्शन गरेका थिए । एक नगरपालिका र ९ गाउँपालिका रहेको रोल्पामा ७ वटामा माओवादी, २ वटामा एमाले र एकमा कांग्रेसले जितेको थियो ।

विरोध भइरहेकै समयमा बहुमतबाट नाम परिवर्तनको प्रस्ताव पारित गरिएपछि विपक्षमा रहेका जनप्रतिनिधि सभाबाट बाहिरिएका छन् ।

स्थानीय तहको नाम र केन्द्र निर्धारण जिल्ला प्राविधिक समितिले सिफारिस गरेपछि सुवर्णावती गाउँपालिका रहेको थियो । स्थानीय तहका जनप्रतिनिधिको पहिलो बैठकको ६ महिनाभित्र आवश्यक ठानेमा नाम र केन्द्र बहुमतबाट परिवर्तन गर्न सकिने प्रावधान छ । सोही प्रावधानलाई टेकेर नाम परिवर्तन गरिएको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताउनुभयो । सुवर्णावती नामको ऐतिहासिकता नभएकाले नाम परिवर्तन जायज भएको उहाको भनाई छ ।

विपक्षीले धेरै शहिद भएको गाउँपालिकामा एक जनाको नामबाट मात्र नामाकरण गलत हुने तर्क गरेका छन् । 

एक नगरपालिका र नौ गाउँपालिकामा सुकिदह गाउँपालिकाको नाम र केन्द्र परिवर्तन हुँदा पनि विरोध भएको थियो । गाउँपालिकाको कार्यालयमा समेत तालाबन्दी भएको थियो । 

शहिदको नाममा भन्दै गंगादेव गाउँपालिका नामाकरण गरिएपछि विरोध चर्किएको हो । नाम र केन्द्र परिवर्तनको निर्णय र साविककै केन्द्र र नाम राख्ने माग दुवै मन्त्रालयमा पेश गर्ने सहमति भएको छ ।

दुईखोली गाउँपालिकाको सहिदको नामबाट नामाकरण गर्ने चर्चा सेलाएको छ । त्रिवेणी गाउँपालिको केन्द्र सार्ने माग चर्किदै गएको थियो । स्थानीय तहको केही संरचना र कार्यालय नुवागाउँमा स्थापना गर्ने सहमतिपछि विवाद साम्य भएको छ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!