सुशासन प्रवद्र्धनको मुख्य बाधक भ्रष्टाचार: प्रमुख आयुक्त बस्न्यात

Posted on: 29 Dec, 2017

स १४, बर्दिवास । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले सुशासन प्रवद्र्धनको मुख्य बाधक भ्रष्टाचार भएकाले यसका विरुद्ध सङ्गठित प्रयत्नको खाँचो रहेको बताउनुभएको छ । 

महोत्तरी बर्दिवास–३ गौरीडाँडास्थित आयोगको प्रशासनिक भवनको आज शिलान्यास गर्दै उहाँले भन्नुभयो – “भ्रष्टाचारविरुद्धको अभियानमा सबैको सहभागिता आवश्यक रहेको छ । ” 

प्रमुख आयुक्त बस्न्यातले आयोगले आफ्नो तहबाट भ्रष्टाचारविरुद्ध अभियान चालेको बताउँदै भ्रष्टाचारका बिषय सबै क्षेत्रको साझा प्रयत्नले मात्र निर्मूल गर्न सक्ने भएकाले यसमा आम चासो बढाउन आवश्यक छ भन्नुभयो । 

आयोगले भ्रष्टाचारविरुद्ध सचेतना अभिवृद्धि र तत्काल कारबाही बढाउन सजिलो होस् भनेर मुलुकका विभिन्न ठाउँमा कार्यालय स्थापना गर्ने अभियानका क्रममा बर्दिवासमा नयाँ प्रशासनिक भवन बनाउन लागिएको कार्यक्रममा जानकारी गराइयो । 

बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित १३ कठ्ठा आठधुर क्षेत्रफलमा रु १३ करोड ९० लाख ६४ हजार १२७ को लागतमा सो भवनको निर्माण कार्य शुरु गरिएको बर्दिवासस्थित आयोगको कार्यालयले जनाएको छ । 

सुरक्षाकर्मी आवासका लागि एउटा तीन तल्ले र प्रशासनिक भवनका लागि अर्को दुई तल्ले भवन निर्माण हुनेछ । दुवै भवनमा गरी २० कोठा हुनेछन् । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!