नयाँ सरकारले देशलाई विकास र समृद्धिमा लैजान्छ: महरा

Posted on: 09 Jan, 2018

पुस २५, दाङ । उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तुलसीपुर पश्चिम नेपालको ‘हव’ बनाउनका लागि मुगुको रारासँग जोड्ने गुरुयोजना बनाएर अगाडि बढ्ने बताउनुभएको छ । 

आज तुलसीपुर नगर विकास समितिले जिल्लाबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएकालाई आयोजना गरिएको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले समग्र दाङको विकासका लागि आफूले कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो । 

उहाँले वाम गठबन्धको अब बन्ने सरकारले देशलाई विकास र समृद्धिमा लैजाने पनि बताउनुभयो । उहाँले दाङ प्रदेश नं ५ को राजधानी बन्नेमा आफू विश्वस्त रहेको र यदि कदम कदाचित दाङलाई राजधानी बनाउनबाट रोके आफूहरु नागरिक सँगसँगै आन्दोलनमा जाने पनि चेतवानी दिनुभयो । 

सोही कार्यक्रममा दाङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका हिराचन्द्र केसी, प्रदेश सभामा दाङ ३ को २ बाट निर्वाचित हुनुभएका उत्तरकुमार वलीले निर्वाचनका क्रममा आफूले जनतासँग गरेका वाचा पूरा गर्न सक्दो पहल गर्ने बताउनुभयो । 

सो कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावत, नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीलगायतकाले मन्तव्य दिनुभएको थियो । 

कार्यक्रम तुलसीपुर नगर विकास मितिका अध्यक्ष यज्ञबहादुर केसीको अध्यक्षता र सञ्चालन रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीले गर्नुभएको थियो ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!