दाङबाट आठौँ प्रदेश घोषणा गर्ने चेतावनी, माओवादीको पनि साथ

Posted on: 18 Jan, 2018

माघ ४, काठमाडौँ । सरकारले प्रदेश ५ को अस्थायी मुकाम बुटवल घोषणा गरेपछि दाङमा आन्दोलन चर्किएको छ । आन्दोलनकारीहरुले आफ्नो सरकारले माग सम्बोधन नगरे आठौँ प्रदेश घोषणा गर्ने चेतावनी दिएका छन् । 

सरकारले निर्णय सच्याउनुपर्ने आन्दोलनकारीको माग छ । सरकारको निर्णयविरुद्ध बुधबार दाङको घोराही, तुलसीपुर, लमहीलगायत क्षेत्रमा प्रदर्शन भयो । 


धनगढीलाई अस्थायी मुकाम घोषणा गरिएपछि डोटीको दियापल पनि बुधबार दिनभर तनावग्रस्त बन्यो । दिपायललाई प्रदेश ७ को अस्थायी मुकाम घोषणाको माग गर्दै डोटीमा अनिश्चितकालीन बन्दको घोषणा भएको छ ।

प्रदेश १ को अस्थायी मुकाम विराटनगर तोकिएको विरोधमा धनकुटामा विरोध सुरु भएको छ । प्रदेश २ को अस्थायी मुकाम जनकपुरबाट वीरगन्ज हुनुपर्ने भन्दै प्रदर्शन सुरु भएको छ । - नयाँ पत्रिकामा खबर छ ।

माओवादीको पनि साथ 

सरकारले प्रदेशको अस्थायी राजधानी तोकेको विषयमा नेकपा (माओवादी केन्द्र)का नेता तथा दाङ क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभाका सदस्य कृष्णबहादुर महराले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल सच्याउन आग्रह गरेका छन् ।

साथै नेता महाराले प्रदेश नं ५ को अस्थाई राजधानी दाङ नतोकिएपछी माओवादीले समेत उक्त क्षेत्रमा भईरहेको आन्दोलनलाई समर्थन गर्ने जनाएको छ । महराले आज प्रेस विज्ञप्ति जारी गरी देशका विभिन्न भागमा प्रदेश राजधानीको विषयलाई लिएर भइरहेको सशक्त विरोध प्रदर्शन र कार्यक्रमका सन्दर्भमा सरकारले कतिपय प्रदेशका अस्थायी राजधानी विवेकसम्मत र सन्तुलितरुपमा तोक्न नसक्नु सरकारको असक्षमता पुष्टि भएको उल्लेख गरेका छन् । 

महराले प्रशासन पुनःसंरचना आयोगको सिफारिश, कतिपय सरकारी उच्च निकाय र राष्ट्रिय–अन्तर्राष्ट्रिय सुझाव र सल्लाहलाई समेत लत्याउँदै गरिएको सरकारको यो निर्णय मनोमानी र स्वार्थप्रेरित हुन पुगेको आरोप समेत लगाए ।  उनले प्रदेश नं ५ को राजधानी दाङ सुरक्षित, समदूरी र पूर्वाधारसहित पर्याप्त स्थान भएकाले उचित र सन्तुलित हुनुपर्दछ भनि त्यस क्षेत्रका जनसमुदायले गरिरहेको आन्दोलनमा आफु दृढतापूर्वक समर्थन गर्ने बिज्ञप्तिमा उल्लेख गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!