डोटीमा कांग्रेसका ३५ नेताले पार्टी कार्यालयमा कालो झण्डा राखेर पार्टी छाडे

Posted on: 18 Jan, 2018

माघ ४, डोटी । प्रदेश ७ को अस्थायी मुकाम कैलाली कायम गरिएको विरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले नेपाली कांग्रेसको पार्टी कार्यालयमा कालो झण्डा राखेका छन् ।

कांग्रेस नेतृत्वको सरकारले प्रदेश ७ को अस्थायी मुकाम कैलालीको धनगढी तोकेको विरोधमा पार्टी कार्यालयमा कालो झण्डा राखेका हुन् । आक्रोशित कांग्रेस कार्यकर्ताले पार्टी कार्यालय कब्जाको घोषणा गरेका छन् ।

सरकारले अस्थायी मुकाम धनगढी तोकेको बिरोधमा बुधवार राति नेपाली कांग्रेसका ३५ जना कार्यकर्ताले राजीनामा दिएका छन् । पार्टी जिल्ला उपसभापति लक्ष्मणबहादुर सिंह, सचिवहरु नारायण जोशी र वीरेन्द्र शाह, कोषाध्यक्ष भरत कठायत, सहसचिव तेजबहादुर लुहार, दिपायल नगरपालिकाका पार्टी नगर सभापति गणेश मलासीसहित ३५ जनाले संयुक्त विज्ञप्ति जारी गरी कांग्रेस परित्यागको घोषणा गरेका हुन् ।

कांग्रेस नेतृत्वको सरकारले डोटेली जनताको भावना विपरीत अस्थायी मुकाम तोकेर दुर्गमका जनतामाथि अन्याय गरेकोले आफूहरुले पार्टी परित्याग गरेको उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!