वडा कार्यालयको तालाबन्दी नखुल्दा वडावासीलाई समस्यामा

Posted on: 31 Jan, 2018

माघ १७, इलाम | इलाम नगरपालिका–१२ साङरुम्बाको वडा कार्यालयमा लगाइएको तालाबन्दी एक साता बितिसक्दा पनि नखुलेपछि वडावासीलाई समस्या भएको छ। 

कार्यालयमा तालाबन्दी हुँदा वडा कार्यालयका सम्पूर्ण काम ठप्प भएका छन् । तालाबन्दी भएपछि कार्यालयमा कुनै काम भएको छैन, जसका कारण सेवाग्राही मर्कामा परेका छन् । नगरपालिकाबाट विनियोजित रु २० लाखबाट निर्माण गरिने ढोलेदेवी–दमाइ इन्टेक जाने बाटो निर्माण समिति बनाउने क्रममा वडाध्यक्ष लाखमान लिम्बूले बाम गठबन्धनलाई उपेक्षा गरेको भन्दै तालाबन्दी गरिएको बताइएको छ । 

नेपाली काँग्रेस, संघीय समाजवादी र मंगोल नेशनल अर्गनाइजेशनलाई मात्र समेटेर उपभोक्ता समिति बनाइएकाले समानताको माग गर्दै बाम गठबन्धनका दलहरू आन्दोलित बनेको संयुक्त आन्दोलन समिति संयोजक भरत घिमिरेले जानकारी गराउनुभयो । 

यता वडाध्यक्ष लिम्बूले भने पटक पटक बैठकमा बोलाइएको तर आन्दोलित समूहका कोही पनि नआएको बताउनुभयो । आन्दोलित समूहले गत माघ ९ गतेदेखि वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!