प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि माओवादीबाट भट्ट सिफारिस

Posted on: 02 Feb, 2018

माघ १९, धनगढी | माओवादी केन्द्रले प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि डोटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ । 

वाम गठबन्धनले प्रदेश नं ७ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति गरेसँगै उक्त दलले आज पार्टीको प्रदेश कार्यालयबाट सांसद भट्टको नाम सिफारिस गरेको हो । 

उक्त दलका प्रदेश नं ७ संयोजक लक्ष्मणदत्त जोशीले शुक्रबार काठमाडौँमा भएको प्रदेश कार्यालयको बैठकले भट्टलाई मुख्यमन्त्रीमा सिफारिस गरेको जानकारी दिनुभयो । 

उहाँले राससलाई भन्नुभयो, “अब दुई÷तीन दिनभित्र केन्द्रले निर्णय गर्छ होला ।” यसअघि २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा भट्ट पराजित हुनुभएको थियो । 

बिहीबारसम्म माओवादीभित्र भट्टसँगै कैलालीबाट निर्वाचित सांसद वीरभान चौधरी र दार्चुलाका सांसद मानबहादुर धामीको नाम चर्चामा थियो । प्रदेशसभामा उक्त दलबाट प्रत्यक्ष र समानुपातिक गरी १४सांसद छन् । 

प्रदेश नं ७ को अस्थायी मुकाम धनगढीलाई नै कायम गर्ने गरी पहाडलाई मुख्यमन्त्री दिन सन्तुलन मिलाउने क्रममा भट्टलाई माओवादीले सिफारिस गरेको आँकलन गरिएको छ । 

त्यसैगरी प्रदेशसभामा १२ जना सांसद रहेको नेपाली काँग्रेसले पनि आवश्यकताअनुसार निर्णय लिएर मुख्यमन्त्रीका लागि अघि बढ्ने संकेत गरेको छ । डडेल्धुराबाट प्रदेशसभामा निर्वाचित सांसद एवं पार्टीका जिल्ला सभापति कर्णबहादुर मल्लले मुख्यमन्त्रीको उम्मेदवारका सम्बन्धमा केन्द्रको निर्देशनअनुसार शनिबारदेखि छलफल गरेर अघि बढ्ने बताउनुभयो । “पार्टीले सातवटै प्रदेशमा केन्द्रबाट नेता खटाएको छ ।” सांसद मल्लले भन्नुभयो, “छलफल गर्छौं र आवश्यताअनुसार निर्णय लिन्छौँ ।” प्रदेश नं ७ मा काँग्रेसबाट चार निर्वाचित र आठ समानुपातिक गरी १२ सांसद छन् । 

प्रदेश नं ७ मा दुईजना सांसद रहेका राष्ट्रिय जनता पार्टीले पनि पार्टीमा छलफल गरेरमात्रै मुख्यमन्त्रीमा कुन दललाई सहयोग गर्ने भन्ने टुंगो लगाउने छ । राष्ट्रिय जनता पार्टीबाट प्रदेश सांसद रहनुभएका मालामती रानाले वाम गठबन्धनले मुख्यमन्त्रीको उम्मेदवार टुंगो लगाएपछि मात्रै आफूहरु निर्णय लिन छलफल गर्ने बताउनुभयो । त्रिपन्नजना सांसद रहेको प्रदेश नं ७ मा नेकपा (एमाले) का २५, माओवादी केन्द्रका १४, नेपाली काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुईजना सांसद छन् । 

एमालेभित्र पनि लबिङ 

प्रदेश नं ७ मा वाम गठबन्धनले मुख्यमन्त्री माओवादी केन्द्रलाई र सभामुख नेकपा (एमाले)लाई दिने सहमति गरेसँगै प्रदेशसभामा बढी सांसद संख्या रहेको नेकपा (एमाले) भित्र पनि सभामुख र संसदीय दलको नेताका लागि लबिङ हुन थालेको छ । 

एमालेभित्र अहिले कञ्चनपुरबाट निर्वाचित सांसद तारालामा तामाङ, बाजुराबाट निर्वाचित प्रकाश शाह र कैलालीबाट निर्वाचित दीर्घ सोडरी संसदीय दलको नेताका लागि दाबेदार देखिनुभएको छ । 

संसदीय दलको नेताका लागि आकांक्षी देखिनुभएका बाजुराका सांसद शाहले पार्टीको प्रदेश कमिटिको नेतृत्व सहमतीबाटै नेता छान्नेमा आफू आशावादी रहेको बताउनुभयो । आफू वरिष्ठ नेता भएका शाहले संसदीय दलमा आफ्नो दाबी रहेको जानकारी दिनुभयो । “पार्टीको प्रदेश कमिटीको नेतृत्वले विधि, प्रक्रिया तोडेर जाँदैन भन्नेमा छु ।” उहाँले भन्नुभयो, “सर्वसम्मतको प्रयास पनि हुन्छ ।” 

एमालेभित्र डोटीका पूर्णा जोशी, डडेल्धुराका पठानसिंह बोहरा र बझाङका अर्जुन थापाको नाम पनि सभामुखको पदमा चर्चा छ । 

माघ २१ गते बिहान एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रदेश संयोजक भीम रावलको उपस्थिति रहने बैठकमा सभामुख, संसदीय दलको नेता र मन्त्रीहरूको छनोटको विषयले प्राथमिकता पाउनेछ । 

माओवादीभित्र भने उपसभामुखमा बझाङबाट प्रदेशसभामा निर्वाचित देवकी मल्ल र डडेल्धुराबाट समानुपातिक सांसद कुन्ती जोशीको चर्चा हुन थालेको छ । पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्छ । सभामुख पुरुष भए उपसभामुख महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ । 

माओवादीबाट उपसभामुखका आकांक्षी देवकी मल्लले आफूले उपसभामुखका लागि दाबी गरेको बताउनुभयो । “मैले त मुख्यमन्त्रीकै लागि दाबी गरेकी थिएँ ।” उहाँले भन्नुभयो, “अरु साथीहरु देखेपछि उपसभामुख नभए मन्त्रीका लागि आकांक्षा राखेकी छु ।” उहाँले पार्टी र प्रदेश संसदीय दलको बैठकमा उक्त विषयमा छलफल हुने बताउनुभयो । 

ज्येष्ठ सदस्य धनगढी आउँदै 

प्रदेश नं ७ को आइतबार हुन लागेको पहिलो बैठक प्रदेशसभाकी ज्येष्ठ सदस्य दिव्यश्वरी शाहको अध्यक्षतामा बस्नेछ । बैठकका लागि उहाँ शुक्रबार काठमाडौँबाट धनगढी आउँदै हुनुहुन्छ । 

ज्येष्ठ सदस्य शाहले आफू बैठकका लागि धनगढी आउन लागेको राससलाई जानकारी दिनुभयो । जिल्ला समन्वय समितिको सभाकक्षमा हुने बैठकको तयारी दु्रत गतिमा भइरहेको प्रदेश नं ७ का प्रमुख सचिव लक्ष्मीराम पौडेलले जानकारी दिनुभयो । 

“बैठकका लागि सभाकक्षमा तयारी हुँदैछ ।” उहाँले भन्नुभयो, “बैठक बस्नुअघि तयारी भइसक्ला ।” बैठकका लागि चार सदस्यीय संघीय संसद् सचिवालयबाट सहसचिव मुरारी महतको नेतृत्वमा एक टोली धनगढी आइपुगेको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!