प्रदेश नं ५ को पहिलो बैठक आज १ बजेदेखि, खान/बस्न २० प्रतिशत छुट

Posted on: 04 Feb, 2018

माघ २१, बुटवल | राज्यको नयाँ संरचनाअनुसार बनेको ५ नं प्रदेशको पहिलो प्रदेश सदस्य बैठक आजदेखि यहाँ शुरु हुँदैछ । प्रदेश प्रमुख उमाकान्त झाले आज अपराह्न १ बजेका लागि बैठकको आह्वान गर्नुभएको छ । बैठकका लागि प्रदेश सभाका सचिवालय स्थापना गरिएको उद्योग वाणिज्य संघको सभाहल चिटिक्क सजाइएको छ । 

अधिवेशनका लागि भौतिक संरचना र मानवीय व्यवस्थापनका काम सकिएको संघीय संसद्का सहजीकरण टोली प्रमुख सुरेन्द्रप्रसाद अर्यालले बताउनुभयो । सभा सञ्चालनका लागि संघीय संसद्को सहजीकरण टोलीले कर्मचारी, मर्यादापालक, सभामुख लगायतलाई सहजीकरण गरिसकेको छ । 

प्रदेशको पहिलो बैठकको प्रारम्भमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै सभामुखको निर्वाचनका लागि यही माघ २७ गते उम्मेदवारी दर्ता र २८ गते निर्वाचनको मिति तोक्नेसमेत कार्यसूची रहेको प्रदेशका ज्येष्ठ सदस्य तथा बैठकको सभामुखको जिम्मेवारीमा रहनुभएका बलदेब शर्मा पोखरेलले जानकारी दिनुभयो । यससँगै पहिलो बैठकमा दलीय प्रतिनिधित्वका अधारमा प्रत्येकलाई १० मिनेट मन्तव्य राख्न दिइने कार्यसूची रहेको छ । 

प्रदेश सभामा सहभागी हुन आउने सांसदहरुको चहलपहल बढेपछि बुटवल र आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेश सभा सचिवालय र आसपासमा जनपथ र बाहिरी घेरामा सशस्त्र प्रहरी परिचालन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताउनुभयो । प्रदेश ५ का १२ जिल्लाबाट एमाले, काँग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा र राजपाका गरी ८७ सांसद छन् । उनीहरुले औपचारिक तर स्वेच्छाले पोशाक लगाउन पाउने दलीय सहमति भएको सर्वदलीय बैठकमा भाग लिनुभएका एमाले प्रदेश सदस्य भोजप्रसाद श्रेष्ठले बताउनुभयो । 

प्रदेश सभाको पहिलो बैठकलाई लक्षित गरी बुटवलमा होटल व्यवसायीले २० प्रतिशत छुटमा खाना तथा बसोबासको व्यवस्था गरेका छन् । संघीयताको पहिलो अभ्यास प्रदेश सभा र त्यसको पहिलो सभालाई स्थानीयवासीले समेत निकै चासोका साथ प्रतीक्षा गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!