प्रदेश ७ का सांसदहरुले समृद्धिका लागि एकजुट भएर लाग्ने प्रतिवद्धता गरे

Posted on: 04 Feb, 2018

माघ २१, धनगढी | प्रदेश नं ७ को धनगढीमा आज बसेको पहिलो प्रदेशसभा बैठकमा बोल्ने सांसदले यो प्रदेशका समृद्धिका लागि एकजुट भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे । 

वक्ताहरुले प्रदेश नं ७ (सुदूरपश्चिम) मा अनेक सम्भावना रहेको बताउँदै त्यसका लागि सबै मिलेर पहल गर्नुपर्नेमा जोड दिए । 

प्रदेशसभाका ज्येष्ठ सदस्य दिव्येश्वरी शाहको अध्यक्षतामा भएको उक्त बैठकका पहिलो वक्ता बाजुराबाट निर्वाचित सांसद प्रकाश शाहले प्रदेश नं ७ जलविद्युत्, वनसम्पदा, जडीबुटी लगायतका प्राकृतिक स्रोतमा अन्य प्रदेशको तुलनामा धनी रहेको बताउँदै त्यसको सदुपयोगमा जोड दिनुभयो । 

“राजनीतिभन्दा माथि उठेर प्रदेशको विकासमा लाग्यौं भने हामी सबैभन्दा धनी प्रदेशका नागरिक बन्न सक्छौं,” शाहले भन्नुभयो – “समृद्धिको ढोका खोल्न पुराना संस्कार र व्यवहारमा परिर्वतन गर्न जरुरी छ ।” 

जिम्मेवारी इमान्दारीपूर्वक बहन गर्ने नसके जनतामा निराशा छाउने र संघीय लोकतान्त्रिक व्यवस्थामा संकटमा आइपर्नसक्ने उहाँको भनाइ थियो । 

डोटीबाट निर्वाचित सांसद भरतबहादुर खड्काले पनि समृद्धिका लागि एकजुट भएर लाग्नुपर्ने मै जोड दिनुभयो । “प्रदेशको समृद्धि कसरी हासिल गर्ने भन्नेतर्फ सबै अन्तरआत्माबाट लाग्नु आवश्यक छ,” खड्काले भन्नुभयो – “राज्यको पहुँचबाट ढाटा रहेको हाम्रो प्रदेशमा प्रशस्त सम्भावना छन् ।” 

पश्चिम सेती परियोजना अगाडि बढाउन प्रदेशसभाबाट प्रस्ताव पारित गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो – “यहाँको सुकुम्बासी समस्या समाधान, धनगढी विमानस्थलको स्तरोन्नति लगायतका विकासका मुद्दालाई मूर्त रुप दिन लाग्नुपर्छ ।” 

डोटीबाटै निर्वाचित अर्का सांसद त्रिलोचन भट्टले प्राकृतिक स्रोतको सही व्यवस्थापन गर्न सकिए प्रदेश नं ७ समृद्ध हुने बताउनुभयो । यस प्रदेशमा कर्णाली, पश्चिम सेती, पञ्चेश्वर लगायतका ठूला जलविद्युत्का परियोजना रहेको पनि उहाँले उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो – “वैज्ञानिक कृषि प्रणालीमार्फत किसानका लागि गर्व गर्ने नीति ल्याउन जरुरी छ ।” शिक्षाको उचित व्यवस्थापनका लागि उचित नीति र साझा एजेण्डा बनाएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । 

राष्ट्रिय जनता पार्टीका सांसद मालामती राना थारुले राना थारु समुदायको संविधानमा असन्तुष्टि रहेकाले संशोधनका लागि पहल हुनुपर्ने बताउनुभयो । 

“कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभामा विजयी रेशमलाल चौधरीलाई वारिसनामा मार्फत विजयको प्रमाणपत्र बुझाउने व्यवस्था गरियोस्,” उहाँले भन्नुभयो – “टीकापुर घटनामा सरकारद्वारा गठित जाँचबुझ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्न समेत माग गर्छु ।” उहाँले टीकापुर घटनाका बेला थारु समुदायमाथि ज्यादती भएको भन्दै दोषीमाथि कारबाहीको माग पनि गर्नुभयो । 

बैठकको शुरुमा सभामुखको भुमिकामा रहनुभएका ज्येष्ठ सदस्य शाहले प्रदेश प्रमुख मोहनराज मल्लबाट पठाउनुभएको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । दिउँसो १ बजे डाकिएको बैठक आधा घण्टा ढिलो शुरु भएको थियो । 

सभामुखको निर्वाचन माघ २७ मा 

बैठकले प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४ लाई पारित गर्यो । 

कार्यविधि अनुरुप प्रदेशसभा सभामुखको निर्वाचन आगामी माघ २९ दिउँसो १ बजे तोकिएको जानकारी पनि शाहले गराउनुभयो । 

सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न पाँच सदस्य मनोनयन गरिएको छ । मनोनीत हुने सदस्यहरुमा माया भट्ट, देवराज पाठक, वीरमान चौधरी, कृष्णबहादुर चौधरी र पुर्णा जोशी हुनुहुन्छ । प्रदेशसभाको अर्को बैठक आगामी माघ २९ गते सोमबार दिउँसो १ बजे बस्ने छ ।२१  


यस बिषयमा तपाइको प्रतिक्रिया...!