फोरमद्वारा प्रदेश २ को संसदीय दलको नेतामा राउत चयन

Posted on: 05 Feb, 2018

माघ २२, धनुषा । संघीय समाजवादी फोरमले प्रदेश नं २ मा संसदीय दलको नेतामा मो लालबाबु राउतलाई चयन गरेको छ । 

यससँगै राउतलाई प्रदेश नं २ को मुख्यमन्त्रीको उम्मेदवारको रुपमा हेरिएको छ । राउत पर्साका स्थानीय बासिन्दा तथा संघीय समाजवादी फोरमको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । उहाँ पर्साबाट प्रदेशसभामा निर्वाचित सांसद हुनुहुन्छ । 

फोरमले मुख्यमन्त्री पाए राउत नेपालकै अल्पसंख्यक मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै मुख्यमन्त्री पदमा पुग्ने प्रथम व्यक्ति हुनेछन् । जनकपुरमा शनिबारदेखि बसेको फोरमको संसदीय दलको नेता छनोटको बैठकले आइतबार अबेर राति राउतलाई दलको नेतामा चयन गरेको हो । 

यसअघि दलको नेताका लागि राउतसहित सात जनाले उम्मेदवारी दिएका थिए । नेतृत्वले सहमतिको प्रयास गर्दै जाँदा अन्यले नाम फिर्ता लिँदै राउतलाई सर्वसम्मतिबाट संसदीय दलका नेताका रुपमा चयन गरिएको हो । 

प्रदेश नं २ मा फोरमको सबैभन्दा बढी २९ सिट रहेको छ । राजपा नेपालको २५ सिट रहेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!