प्रदेश ५ को निर्वाचन तयारी पूरा

Posted on: 06 Feb, 2018

माघ २३, दाङ | राष्ट्रियसभा सदस्यका लागि ५ नं प्रदेशबाट भोलि दाङमा हुने निर्वाचनको तयारी पूरा भएको छ । 

मुख्य निर्वाचन अधिकृत हेमन्त रावलका अनुसार घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । त्यहाँ दुई वटा मतदान केन्द राखिएका छन् । 

एउटा मतदान केन्द्रमा प्रदेशसभा सांसदले मतदान गर्ने र अर्को मतदान केन्द्रमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने व्यवस्था मिलाइएको छ । 

जिल्लामा आवश्यक मतपत्र पनि आइसकेको र सुरक्षा व्यवस्थालगायत सबै तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिनुभयो । 

प्रदेश नं ५मा ३०५ मतदाता छन् । यस प्रदेशबाट आठ सदस्य निर्वाचित हुने र यसअघि तीनजना महिला निर्विरोध निर्वाचित भइसकेका कारण अब पाँचजना निर्वाचित हुन बाँकी छ । पाँचजनाका लागि अहिले आठजना चुनावी प्रतिस्पर्धामा छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!