पार्टी एकताको ढाँचा अन्तिम रुपमा पुगिसक्यो: प्रचण्ड

Posted on: 09 Feb, 2018

माघ २६, चितवन | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार, राजनीतिक संगठन र सिद्धान्त मिलाउनुपर्ने भएकाले पार्टी एकता गर्न समय लागेको बताउनुभएको छ । 


प्रेस सेन्टर चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पदका कुरामा नभएर विचार, राजनीतिक कार्यदिशा र संगठनात्मक संरचनालाई कसरी मिलाउने भन्नेबारेमा नेकपा(एमाले)सँग छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “माओवादी केन्द्र र एमालेबीचको एकताभित्र थुप्रै मनोविज्ञान, इतिहास जोडिएका छन् । यी सबै कुरासँग सम्बन्धित विषय अन्ततः वैचारिक राजनीतिक विषय हुन्छन् ।” दाहालले दुवै पार्टीका अध्यक्ष पार्टीको प्रमुख र प्रधानमन्त्री भइसकेकाले पदकै निम्ति झिनाझप्टी नहुने स्पष्ट गर्नुभयो । 

पार्टीलाई सही ढंगले एकताबद्ध गर्न र देशलाई सुशासन र समृद्धितर्फ लैजान वामदेव गौतमको संयोजकत्वमा गठित समितिले सुशासनको प्राथमिकता र विकासको प्राथमिकताबारे छलफल गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी दुई जनाको बीचमा कुरा मिलेर मात्रै होइन, पार्टी संगठनका माथिदेखि तलसम्मका सबैले राम्रो भयो भन्ने महसुस हुने गरी पार्टी एकता गर्दैछौँ ।”

उहाँले पार्टी एकता र सरकार गठन सँगसँगै होस् भन्ने आफ्नो चाहना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो कोशिश सरकार गठन गर्नुभन्दा अगाडि पार्टी एकताको कुरा टुंगियोस् भन्ने छ । नभए पनि पार्टी एकता र सरकार गठनको प्रक्रिया सँगसँगै होस् भन्ने छ । ओलीजीको पनि त्यतैपट्टि जोड छ ।” 

उहाँले पार्टी एकताको ढाँचा अन्तिम रुपमा रहेको पनि जानकारी दिनुभयो । उहाँले आगामी फागुन ५ गतेभित्र निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष सांसदको नामावली बुझाउने र फागुन ६ गतेदेखि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!