निर्यात वृद्धि हुनसके आर्थिक उन्नतिले गति लिन्छ: उपराष्ट्रपति पुन

Posted on: 10 Feb, 2018

माघ २७, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले निर्यात वृद्धि हुनसके आर्थिक उन्नतिले गति लिने बताउनुभएको छ । 

नेपाल हिमालय सीमापार वाणिज्य संघको १८औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले आयात बढी भएकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु पाँच खर्ब व्यापार घाटा रहेको बताउनुभयो । 

“चालु आर्थिक वर्षको पहिलो छ महिनामा चीनबाट नेपालमा रु ६७ अर्ब ८८ करोडको सामान आयात गरिएको छ, नेपालबाट चीनमा रु एक अर्ब ५८ करोडको सामान मात्र निर्यात भएको छ, यस अवधिमा चीनसँग रु ६६ अर्ब ३० करोडको व्यापार घाटा भएको छ”– उहाँले भन्नुभयो । 


दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्रीसम्म आयात भइरहेकोतर्फ उपराष्ट्रपति पुनले चिन्ता प्रकट गर्नुभयो । उत्पादन र निर्यातमा ध्यान दिनसके चीनसँगको व्यापार घाटा कम गर्न सकिने उहाँको भनाइ थियो । 

चीनसँग व्यापार हुने कोदारी नाका भूकम्पपछि बन्द हुनु र रसुवा नाकामा भौतिक संरचना राम्रो नहुँदा देशको अर्थतन्त्रमै असर परेकाले यसतर्फ गम्भीर हुन सरोकार भएका निकायका अधिकारीलाई उपराष्ट्रपति पुनले आग्रह गर्नुभयो । 

सिन्धुपाल्चोक क्षेत्र नं १ का सांसद अग्निप्रसाद सापकोटाले राजनीति ट्र्याकमा आएकाले विकास निर्माणका माध्यमबाट समृद्धिको ढोका खोल्ने समय आएको बताउनुभयो । “अब बन्ने सरकारले राष्ट्रिय जीवनका सबै क्षेत्रमा रुपान्तरण गर्नुपर्नेछ, सबैले समान अवसर पाउने समाजवाद स्थापना हुनेछ, सरकारी, सार्वजनिक र निजी क्षेत्रको तीन खम्बे अर्थनीतिका माध्यमबाट समृद्धिको बाटो खुल्नेछ”, उहाँले भन्नुभयो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष उमेशलाल प्रधानले सरकारका १४ निकायले प्रहरी लगाएर व्यवसायीको अनुगमन गर्दा पनि कालोबजारियाका नाममा दुःख दिइएको गुनासो गर्नुभयो । कर तिरेर व्यापार गर्दा सरकारले २० प्रतिशतभन्दा बढी नाफा नखाऊ भन्नु जायज नभएको उहाँको भनाइ थियो । 

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले ४० वर्षअघि बनेको कालोबजारिया ऐनलाई खारेज गर्न माग गर्नुभयो । 

सो अवसरमा चीनको गोञ्जाओ प्रान्तमा रहेको नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत रवि भट्टराई, संघका अध्यक्ष विष्णुबहादुर खत्री र महासचिव अर्जुनप्रसाद गौतमले चीनसँगको व्यापारलाई सहज बनाउन आवश्यक पूर्वाधार निर्माण एवं तयारीका काम गरिनुपर्नेमा जोड दिनुभयो । 

संघको साधारणसभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेसमेत सो अवसरमा जानकारी गराइयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!