प्रदेश ५ को सभामुखमा घर्तीको निर्विरोध निर्वाचित

Posted on: 14 Feb, 2018

फागुन २, बुटवल | प्रदेश नं ५ को सभामुखमा रुकुम पूर्व प्रदेशसभा ‘ख’ बाट निर्वाचित सदस्य पूर्णबहादुर घर्ती निर्वाचित हुनुभएको छ । प्रदेश नं ५ को आज बसेको बैठकले घर्तीलाई प्रदेशसभा सभामुखमा निर्विरोध निर्वाचित गरेको हो । 

सभामुख पदका लागि हिजो भएको उम्मेदवारी दर्तामा अरु कसैको उम्मेदवारी नपरेकाले संविधानको धारा १८२ को उपधारा २ अनुसार घर्ती सभामुखमा निर्विरोध चयन हुनुभएको सभाका ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले घोषणा गर्नुभएको थियो । 

आजको बैठकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक दधिराम न्यौपानेले पेश गरेको प्रस्तावमा एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले समर्थन गरेपछि सभामुख बलदेव शर्मा पोखरेलले निर्वाचित भएको घोषणा गर्नुभएको थियो । 

रुकुम पूर्व प्रदेशसभा ‘ख’ बाट निर्वाचित घर्ती पूर्वी रुकुम जिल्ला भूमे गाउँपालिका–९ का स्थानीय बासिन्दा हुनुहुन्छ । बुबा वीरबहादुर घर्ती र आमा जयकली घर्तीका छोराको रुपमा २०२४ असार २९ गते उहाँको जन्म भएको हो । उहाँकी श्रीमती सीता आचार्य र एक छोरी लिचुन घर्ती मगर हुनुहुन्छ ।

विसं २०३७ मा अनेरास्ववियुको सदस्यता प्राप्त गरेपछि वामपन्थी राजनीतिमा लाग्नुभएका घर्तीले २०६४ सालमा नेपाल टेलिभिजनको अध्यक्षको समेत जिम्मेबारी सम्हाल्नु भएको थियो । पछिल्लोपटक उहाँ नेकपा (माओवादी केन्द्र) ५ नं प्रदेश संयोजक तथा केन्द्रीय सचिवालय सदस्य समेत रहनुभएको थियो । 

साहित्य र जनवादी गीत संगीतमा दख्खल राख्नुहुने घर्तीले २०४७ देखि २०५२ सम्म सामना परिवार र जनसांस्कृतिक संघको केन्द्रीय नेतृत्वमा रही विशेषत राप्तीमा सांस्कृतिक अभियानको नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । 

आजको बैठकले फागुन ६ गते उपसभामुखको निर्वाचनको मितिसमेत तोकेको छ । अर्को संसद् बैठक फागुन ६ गते १ बजे बस्ने भएको छ । 

सभामुख चयन भएपछि घर्तीले नयाँ जिम्मेवारी पूरा गर्न सबै पार्टी र सांसदसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । 

उहाँले मुलुकमा संघीय गणतन्त्र स्थापना भएको अवस्थामा नयाँ जिम्मेवारी थपिएको बताउनुभयो । उहाँले अहिले कार्य क्षेत्र फरक भएको जनताप्रति, राष्ट्रको समृद्धिप्रति र जनताको अधिकारलाई सुनिश्चित गर्ने अभिभारा पूरा गर्ने प्रतिबद्धता नै पहिलो हुने बताउनुभयो । 

सभामुख घर्तीले प्रदेश नं ५ को विकासका लागि समृद्धि नै मुख्य हुने बताउँदै त्यसलाई पूरा गर्ने प्रतिबद्धता जनाउदै सबैको सामूहिक चाहना र प्रतिबद्धता रहने बताउनुभयो । 

उहाँले प्रदेश नं ५ मा समृद्धिका मुख्य आधार जल, जमिन, कृषि, पर्यटनलगायत ऐतिहासिक धरोहरमा यो प्रदेश धनि भएको त्यसलाई संरक्षण, संवद्र्धन गरेर योजनावद्ध विकासका खाका बनाएर काम गर्न सकिने बताउनुभयो । 

सभामुख घर्तीले प्रदेश नं ५ को स्थायी राजधानी जनतालाई सहज हुनेगरी सबैको सहमतिमा यसको टुंगो लगाइने समेत स्पष्ट पार्नुभयो । 

नवनिर्वाचित सभामुख घर्तीलाई आजनै प्रदेश प्रमुख उमाकान्त झाले पद तथा गोपनियताको शपथ गराउनु हुनेछ । शपथ ग्रहण समारोह प्रदेश प्रमुखको सचिवालयमा अहिले बेलुका ४.३० बजेलाई तय गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव सनतकुमार दवाडीले जानकारी दिनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!