प्रदेश ३ को राजधानी सार्नुपर्नेमा सांसदहरुको जोड

Posted on: 16 Feb, 2018

फागुन ४, भक्तपुर | प्रदेश नं ३ को स्थायी राजधानी हेटौंडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधि तथा प्रदेश सांसदहरुले जोड दिएका छन् । 

उनीहरुले यसअघिको काम चलाउ सरकारले जनताको भावना र चाहना विपरित भौगोलिक अवस्थालाई समेत मूल्यांकन नगरी हचुवाको भरमा हेटौंडालाई अस्थायी राजधानी तोकेकाले अन्यत्रै राजधानी सार्नुपर्नेमा जोड दिएका हुन् । 

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा प्रदेश नं ३ को भौगोलिक अवस्था नियाल्दा हेटौंडा राजधानीका लागि उपयुक्त नभएको काभ्रेका सांसद गोकुल बास्कोटाले बताउनुभयो । 

प्रदेश सांसदहरुको बहुमतले प्रदेशका नागरिकलाई पायक पर्ने स्थानमा राजधानी सार्नुपर्नेमा जोड दिंदै उहाँले यस प्रदेशको राजधानी काभ्रे नै उपयुक्त हुने दाबी समेत गर्नुभयो । 

हेटौंडा कुनै पनि हालतमा राजधानी हुननसक्ने भन्दै दोलखाका सांसद पार्वत गुरुङले पूर्व सिन्धुलीदेखि पश्चिम चितवनलाई मध्यनजर गरेर प्रदेशको राजधानी तोकिनुपर्ने धारणा व्यक्त गर्नुभयो । हेटौंडामा अहिले स्थायी राजधानीका लागि खोलिएको बम्पर उपहार योजना गलत भएको भन्दै यस्तो कार्यले राजनीतिक भ्रष्टाचारलाई बढवा दिने उहाँको भनाइ थियो । 

भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा– १ का सदस्य शशिजंग थापाले काम चलाउ सरकारको प्राविधिक टोलीलेसमेत भक्तपुर र बनेपामध्ये एक स्थानलाई प्रदेशको स्थायी राजधानी राख्न सकिने उपयुक्त स्थानका रुपमा प्रस्तुत गरिए पनि सरकारका केही मन्त्रीको चलखेलले हेटौँडा लगिएको आरोप लगाउनुभयो । 

उहाँले प्रदेशसभामा यो विषयले एजेण्डाका रुपमा उठान पाउनासाथ प्रदेश नं ३ को राजधानी भक्तपुर अथवा काभ्रे हुनेसमेत बताउनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!