जनप्रतिनिधिले व्यवहार र कार्यशैलीमा परिवर्तन गर्नुपर्छ: मुख्यमन्त्री

Posted on: 19 Feb, 2018

फागुन ७, हेटौँडा | प्रदेश नं ३ प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय निकायका जनप्रतिनिधिले आफ्नो आचरण व्यवहार र कार्यशैलीमा परिवर्तन गरी जनतालाई प्रजातन्त्रप्रतिको जनआस्था वृद्धि गर्नेतर्फ उन्मुख हुनुपर्ने बताउनुभयो ।

उहाँले ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा प्रदेश नं ३ प्रदेश राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समितिद्वारा आज हेटौँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय अखण्डताप्रति जगेर्ना गरी जनताको आर्थिक समृद्धि गर्नेतर्फ लाग्नुपपर्दछ भन्नुभयो । 

मुख्यमन्त्री पौडेलले प्रदेश नं ३ अन्तर्गत केही जिल्लामा ऊर्जा शक्तिको उत्पादन गरी औद्योगिक विस्तारलाई टेवा पुर्याउन संघीय सरकारले गुरुयोजना तर्जुमा गरी राष्ट्रलाई आत्मनिर्भर बनाउने योजनालाई उच्च प्राथमिकता दिनुपर्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले सो अवसरमा राष्ट्रिय झण्डोत्तोलन गर्नुभएको थियो । 

यसैबीच राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने क्रममा हेटौँडाको बुद्धचोकबाट निस्केको झाँकीसहितको र्यालीले स्थानीय नगर परिक्रमा गरी सिद्धार्थ उच्च माविको प्राङ्गणमा पुगेपछि समारोहमा परिणत भएको थियो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!