प्रदेश नं ३ को राजधानी सर्ने अर्थमन्त्री ढुङ्गेलको सङ्‍केत

Posted on: 03 Mar, 2018

फाल्गुण १९, रामेछाप ।

प्रदेश नम्बर ३ का अर्थ तथा योजनामन्त्री कैलाश प्रसाद ढुङ्गेलले प्रदेशको राजधानी सर्ने सङकेत गर्नुभएको छ । अहिले भएका राजधानी अस्थायी राजधानी भएकाले दुईतिहाइको सहमतिमा स्थायी राजधानी बनाउन सकिने संवैधानिक व्यवस्था रहेको उहाँले बताउनुभयो । प्रेस चौतारी नेपाल जिल्ला शाखा रामेछापले शनिबार मन्थलीमा आयोजना गरेको एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।  


 उहाँले भन्‍नुभयो -" प्रदेशको नाम र राजधानी कहाँ रहन्छ भन्‍ने विषय प्रदेश संसद बैठकले चाडै टुङ्ग्याउँछ " अर्थमन्त्री ढुंगेलले ३ नम्बर प्रदेशसँग गृह जिल्ला रामेछापलाई उच्च प्राथमिकतामा राखेर विकास निर्माणको काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । तीनलालको भूमी रामेछाप जिल्लाले देशको लागि बिचार दिएको बताउँदै उहाँले त्यसको बदलामा अब रामेछापले विकास र समृद्धि पाउनु पर्ने बताउनुभयो ।

उहाँले ५ वर्ष भित्र सबै गाउँपालिकाका केन्द्रसम्म पक्‍की बाटो, सुक्खाग्रस्त क्षेत्रमा लिफ्ट खानेपानी र पर्यटन विकासलाई प्राथमिकतामा राखेर काम गरिने बताउनुभयो ।  उहाँले मुलुकको विकासका लागि सवै सकरात्मक सोचका साथ एकताबद्ध भएर अगाडि बढ्नुपर्ने धारणा राख्‍नुभयो ।

अर्थ मन्त्री बने पश्चात गृह जिल्ला पुग्‍नुभएका ढुङ्गेललाइ जिल्लाबासीले भव्य स्वागत समेत गरेका छन् । एमाले रामेछाप पार्टी कार्यालय र जिसस रामेछापमा समेत उहाँलाइ स्वागत / सम्मान गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!