पाँचथर कांग्रेसले गर्यो अधिवेशन भएको दुई बर्षपछि पदाधिकारी विस्तार

Posted on: 14 Mar, 2018

फागुन २९, पाँचथर | १३ औ अधिवेशन भएको झण्डै २ वर्षपछि नेपाली कांग्रेस पाँचथरले पदाधिकारी विस्तार गरेको छ ।

पार्टीको वैठकले उपसभापतिमा पार्टीका महासमिती सदस्य तथा मनोनित जिल्ला सदस्य मित्र प्रसाद काफले र सहसचिवमा पाटीका निर्वाचित जिल्ला सदस्य बालकृष्ण ओझालाई चयन गरेको हो । यस्तै पार्टीलेले अनुशासन समिती पनि गठन गरेको छ ।

पार्टीका निर्वाचित जिल्ला सदस्य धनेन्द्रराज चेम्जोङको संयोजकत्वमा ३ सदस्य अनुशासन समिती गठन गरिएको छ । समितीका सदस्यहरुमा हंशराज राई, र नारायण कोइराला रहनु भएको छ । पार्टीको विधानमा भएबमोजिम पदाधिकारीहरुलाई मनोनित गरेको पार्टी जिल्ला सभापति नरेन्द्र कुमार केरुङले बताउनुभयो ।


काग्रेस पाँचथर जिल्ला उपसभाति पदमा मनोनित भएका काफ्ले को हुन्  ?

पाँचथर फिदिम नगरपालिका वडा नम्बर १ मा स्थायी घर भएका मित्र प्रसाद काफ्ले ४ पटकसम्म उद्योग वाणिज्य संघ पाँचथरको अध्यक्ष भइसक्नु भएको छ । पाँचौ, छैठौ, सातौ र दशौँ अधिवेशन बाट संघको अध्यक्ष सम्हाली सक्नुभएको छ । त्यसैगरी जिल्लामा मात्रै नभएर महासंघको केन्द्रमा समेत काफ्लेले दुई कार्यकाल केन्द्रिय सदस्य तथा सल्लाहकार समेत भइसक्नुभएको छ । त्यसैगरी वि.स.२०५८ सालमा उद्योग वाणिज्य संघ पाँचथरले सदरमुकाम फिदिममा संचालन गरेको स्वच्छ पिउने पानीको संस्थापक अध्यक्ष,पाँचथर बहुमुखी क्याम्पसको ०५७ सालदेखि अहिलेसम्म निरन्तर संचालक समिती सदस्य, ०४८ सालदेखि निरन्तर जिल्ला बालकल्याण समितीको सदस्य,०६८ सालमा लाइन्स क्लव पाँचथरका अध्यक्ष,अलैँची ब्यवसायि महासंघका सल्लाहकार भइसक्नुभएको छ । यस्तै अहिले उद्योग वाणिज्य संघ पाँचथरको अध्यक्ष हुनुहुन्छ । त्यसैगरी नेपाली काग्रेस पार्टीमा भने वि.स. २०४८ सालदेखि उहाँ निरन्तर गाउँ, क्षेत्र र जिल्लामा क्रियाशिल भइरहनुभएको छ, वि.स. ०६७ सालमा भएको १२ औ अधिवेशन बाट उहाँ आमन्त्रित जिल्ला सदस्य बन्नुभयो । यस्तै १३ औ महाधिवेशनमा भने उहाँ महाधिवेशन प्रतिनिधी हुँदै महासमिती सदस्य बन्नुभयो,यस्तै उहाँ पार्टीको आमन्त्रित जिल्ला सदस्य समेत भइसक्नुभयो,यति मात्रै नभएर सोमबार पाटीको वैठकले उहाँलाई उपसभापति समेत बनाएको छ ।

काफ्ले उपसभापति बनेपछि पार्टीभित्र निक्कै खैलाबैला र तरंग छाएको छ, विभिन्न सकरात्मक नकरात्मक दुवै किसिमका टिकाटिप्पणी आइरहेको छ । कसैले काफ्ले उपसभापति बनेकोमा खुशियाली प्रकट गरेका छन् भने कतिपयले नकरात्मक टिकाटिप्पणी समेत गरेका छन् । लामो समय देखि सामाजिक सेवामा तल्लिन काफले पाटीमा सक्रिय वन्दै जाँदा कतिपयले यो निर्णयले पाटीलाई फाइदा पुग्ने भनेर भनेका छन् भने कतिपयले पैसा र पहुँचको आधारमा पाटी उपसभापति बनेको भन्दै दुर्भाग्यपूर्ण भनेका छन् ।

पार्टीको १२ औ अधिवेशन बाट पाटी सभापति केरुङ सित नजिक भएर काम गर्दे आइरहेका काफले केरुङका विश्वासिलोपात्रको रुपमा चिनीनुभएको छ । १३ औ महाधिवेशनमा भने उहाँले केरुङलाई सभापति बनाउन सक्रिय भूमिका मात्रै खेल्नुभएन्, आफनो प्यानललाई जिताउन राम्रो डिजाइन समेत बनाउनुभयो । त्यसैको फलस्वरुप भनौ, या त सभापति प्रणालीको मनोमानी भनौ,अहिले एउटै अधिवेशन बाट चार, चार ओटा सम्म पद पाउन समेत सफल भएको भन्दै सामाजिक संजाल लगायत पाटीका नेता कार्यकर्ताहरु वीचमा टिकाटिप्पणी भइरहेको छ, निर्वाचित जिल्ला सदस्यहरु हुँदाहुँदै महासमिती सदस्यलाई उपसभापति बनाइनु लजास्पद भएको टिप्पणी समेत नेता कार्यकर्ताहरुले गरेका छन् । उपसभापति पदका लागि निर्वाचित जिल्ला सदस्य,बालकृष्ण ओझा, यज्ञ भट्टराई,छवि बास्कोटा,धनेन्द्रराज चेम्जोङ,गोविन्द फुयाल लगायतको नाम चर्चामा थियो । काफलेको नाम चर्चामै नरहेपनि एक्कासी उपसभापति मनोनित हुँदा भने पाटी भित्र तरंग छाएको हो । उपसभापति पदका आकांक्षी नेपाली काग्रेसका निर्वाचित जिल्ला सदस्य यज्ञ भट्टराईले भन्नुभयो,“ ब्यक्ति कसले के पद पायो भन्ने विषय प्रधान भएन तर मनोनित गर्ने पद्धति र शैली भने उचित भन्ने आफूलाई त्यति ठिक लागेन् ।”

उहाँले थप्नुभयो,“ भोली १२ बजे वैठक वस्दैछ भनेर अघिल्लो दिन सभापतिले भन्ने,त्यो पनि के विषयमा वस्दैछ,एक आपसमा छलफलै नगरी पदाधिकारी लगायत अनुशासन समिती बनाउनुले पाटीको हित गर्छ भन्ने आफूलाई लाग्दैन् ।”

यस्तै नेपाली काग्रेस पाँचथर जिल्ला सचिव रुपनारायण जवेगुले विधान सम्भवत पदाधिकारी चयन भएकोलाई अनुमोदन गर्नुपर्ने बताउनुभयो । तर यसले पाटीको हितलाई फाइदा पुग्छ पुग्दैन भनेर चाहिँ सोच्ने बेला आएको उहाँको भनाई छ । यस्तै नेपाली काँगेस फिदिम नगरपालिका वडा नम्बर १ का सभापति तथा निवर्तमान आमन्त्रित जिल्ला सदस्य शुभराज थापाले भने क्षमतावान निर्वाचित जिल्ला सदस्यहरु हुँदाहुँदै यसअघि नै एउटै कार्यकालमा ३ ओटा पदमा भएका ब्यक्ति जो विवादित ब्यक्तिलाई पाटी उपसभापति बनाइनुले पाटीलाई हित नगर्ने बताउनुभयो । यस्तै पाटीका पूर्व आमन्त्रित जिल्ला सदस्य दिपक नेपालले १३ औ महाधिवेशन भएको २ वर्षपछि पाटीको पदाधिकारी विस्तार गर्नुले पाटीको हित नगर्ने बताउँदै यसका लागि पहिले नै पदाधिकारी चयन गरिसक्नुपर्ने बताउनुभयो । पहिल्यै पदाधिकारी चयन गरेको भए स्थानियतहको निर्वाचन देखि प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा समेत ठूलो टेवा पुग्ने उहाँको भनाई छ । यस्तै कतिपय काग्रेस नेता कार्यकर्ताहरुले भने भूगोल समेत नमिलाइकन पदाधिकारी चयन गरेको बताएका छन् । सभापति केरुङ सिदिन,उपसभापति काफले नाँगिन,निर्वाचित जिल्ला सचिव जवेगु याङनाम एउटै क्षेत्रका ब्यक्तिहरु भएको बताएका छन् । २ नम्बर क्षेत्र बाट २ जना मात्रै मनोनित सचिव र निर्वाचित कोषाध्यक्ष जय कुमार ढकाल मात्रै रहेका छन् ।

यस्तै काफ्ले पार्टी उपसभापति भएपश्चात अबको सभापतिको पनि उहाँ नै हो भन्ने सम्मपनि संकेत गरेको प्रतिक्रिया दिएका छन् । काफलेले भने पाटीका सवै नेता कार्यकर्ताहरुलाई समेटेर पाटीलाई एक ढिका बनाएर लैजाने प्रतिक्रिया दिनुभएको छ ।

को हुन् कांग्रेस जिल्ला सहसचिव पदमा मनोनित ओझा ?

पाँचथर हिलिहाङ स्थित सुभाङका ओझा वि.स. २०४७ साल बाट ने.वि.संघको राजनिती शुरुवात गरेका ओझा ५१ सालमा नेविसंघको क्षेत्रिय सदस्य, ५१ सालमा क्रियाशिल सदस्य,५४ सालमा पाटीको वडा समिती संयोजक बन्नुभयो, यस्तै १२ औ अधिवेशनमा पाटीको आमन्त्रित जिल्ला सदस्य बन्नुभयो । उहाँ पाटीको अलावा पनि विभिन्न एनजिओ,आइएनजिओ सम्हाल्दै अहिले दुई कार्यकाल निरन्तर गैर सरकारी संस्था महासंघको अध्यक्ष बनेर गैससलाई अघि वढाइरहनुभएको छ । ६८ सालदेखि अहिलेसम्म उहाँ गैससको अध्यक्ष रहिरनुभएको छ । १३ औ अधिवेशनताको समयमा केरुङलाई सभापति बनाउन सक्रिय भूमिका निर्वाह गरेका ओझा केरुङका प्रिय पात्र हुनुहुन्छ । ओझाले उपसभापति पदको आकांक्षा राखेपनि पाटीको सहसचिव पदमै चित्त बुझाउनु परेको छ । ओझाको जिल्ला तहमा राजनितीमा त्यत्ति धेरै असन्तुष्ट नभएपनि आफनै गाउँ सुभाङमा भने पाटीको गुटउपगुटका कारण ओझाको प्रभाव पाटी भित्र त्यति नदेखिएको पाटीकै नेता कार्यकर्ताहरु बताउने गर्दछन् । 

- जितेन्द्र भण्डारीको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!